• १३ साउन २०८१, आइतबार

‘पानामा’ रोगबारे अध्ययन गर्न कार्यदल गठन

blog

काठमाडौँ, भदौ ८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा पहिलो पटक देखा परेको ‘पानामा’ रोग (टिआर–४) बारेमा थप अध्ययन गर्नका लागि छ सदस्यीय एक कार्यदल गठन गरेको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । कार्यदलले यो रोगबाट बच्नका लागि के कस्ता उपाय अपनाउनु पर्छ, त्यसबारेमा पालिका, कृषि ज्ञान केन्द्र तथा किसानलाई जानकारी दिने जानकारीमूलक सन्देश तयार गर्ने छ । 

साथै कैलालीको टीकापुरमा यो रोग पहिलो पटक फेला परेको छ, त्यसको स्थालगत अनुगमन गरी सम्पूर्ण जानकारी सङ्कलन गरी प्रतिवेदन तयार गर्ने छ । सोही प्रतिवेदनको आधारमा थप कार्यक्रम तयार गर्ने महानिर्देशक केसीले बताउनुभयो । केरा भएको क्षतिको सम्पूर्ण विवरण लिएर यदि ती केरालाई नष्ट गर्नु परेको अवस्थामा किसानलाई राहत वा क्षतिपूर्ति के दिने ? त्यसबारेमा पनि अध्ययन गर्ने उहाँले बताउनुभयो । 

पहिलो चरणमा कैलालीमा अध्ययन सकिएपछि अन्य ठाउँ जहाँ केरा खेती हुन्छ, ती ठाउँको पनि अवलोकन कार्यदलले गर्ने बताइएको छ । कैलालीका साथै बर्दिया, चितवन, नवलपरासी, बारा, पर्सा, सुनसरी, मोरङ जिल्लामा पनि यो रोगबारेमा अध्ययन गर्ने उहाँले बताउनुभयो । अहिले यो रोग कैलालीमा मात्र फेला परेको छ, अरू ठाउँमा पनि सरेको हुन सक्छ भन्दै ती जिल्लामा पनि अध्ययन, अनुसन्धान गर्ने महानिर्देशक केसीले बताउनुभयो । 

‘पानामा’ (टिआर–४) केरामा लाग्ने यो रोगलाई निकै खतरनाक मानिन्छ । यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको छ । 

यसलाई समयमा नियन्त्रण गर्न सकिएन भने अन्यत्र पनि सर्न सक्छ र यसले केरा उत्पादनमा निकै प्रभाव पार्न सक्ने भएकाले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माले यसमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो ।   

‘पानामा’ (टिआर–४) ले खास गरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरै जसो केराका जातमा आक्रमण गर्ने गरेको छ । यो रोग लागेमा सुरुमा पुरानो पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिने गरेको वैज्ञानिकको अनुसन्धानबाट देखिएको छ । 

वैज्ञानिक खड्काले ‘पानामा’ रोग ‘फ्युजारिया अक्सिस्पोरियम   क्युबेन्स ढुसी’  द्वारा  लाग्ने  गरेको बताउनुभयो । यो ढुसीको चार वटा रेस (प्रजाति) हुन्छन् । तीमध्ये रेस–२ र ३ जङ्गली जातको केरामा लाग्ने गरेको अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो । 

नेपालमा मालभोग र अरू स्थानीय जातका केरामा रेस–१ लाग्ने गरेको र केही वर्षदेखि चितवनलगायत अन्य क्षेत्रमा यो रोग देखिन थालेको थियो । उहाँका अनुसार रेस–४ जसलाई टिआर–४ भनेर चिनिन्छ, त्यो रोगलाई टीकापुर क्षेत्रमा पिसिआरका साथै ‘जिन सिक्वेस्सिङ’ विधिद्वारा पत्ता लगाउन मात्र सकिएको हो ।