शान्ता अधिकारी
चितवन, भदौ ७ गते । नारायणीमा बन्ने सिग्नेचर पुलको टुङ्गो लगाउन पुल महाशाखाको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेका छन् । निर्माण कम्पनीका प्रतिनिधिसहित बिहीबार बिहान चितवन आएको उक्त टोलीले भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकाका जनप्रतिनिधिसहितको रोभरमा पुलको निर्माणस्थलको निरीक्षण गरेको हो ।
निरीक्षणमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, गैँडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, पुल महाशाखाका उपनिर्देशक नरेशमान शाक्य सडक विभागका प्रतिनिधि, तुँदी कन्स्ट्रकसनका प्रतिनिधिसहितको संयुक्त टोलीले निर्माण स्थलकोे निरीक्षण गरेको हो । अहिले रहेको पुलभन्दा उत्तरतर्फ समानान्तर बन्ने सिग्नेचर पुलको लागि तुँही कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको छ ।
चार सय २० मिटर लम्बाईको चार लेनको उक्त पुल निर्माणको लागि एक अर्ब ६८ करोड ७६ लाख रुपिंयाँमा ठेक्का सम्झौता गरेको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको छ । पुल महाशाखा उपनिर्देशक शाक्य अनुसार हाल डिजाईनको काम भइरहेको छ ।
त्यसैगरी, पुल महाशाखा र सडक विभागसहितको प्रतिनिधित्व रहेको उक्त टोलीले यस्तै राष्ट्रिय राजमार्गलाई जोड्ने गरी नारायणी लिफ्टभन्दा उत्तरतर्फबाट गैँडाकोट जोड्ने वैकल्पिक पुलको स्थलगत सर्भे पनि गरेको छ । उक्त टोलीले भरतपुर २६ क्षेत्रमा नारायणी नदीमा चितवन र नवलपुर जोड्ने पुल निर्माणस्थलको अन्यौल हटाउन घोसरघाट र ठेक्का सम्झौतापछि निकुञ्जका कारण रोकिएको गोलाघाट दुबै क्षेत्रको अवलोकन गरेको छ ।
यस्तै, भरतपुर र माडी ठोरी जोड्ने गरी राप्ती नदीमा निर्माण गर्ने तयारी गरिएको भरतपुर २४ मा पर्ने ध्रुब घाट क्षेत्रको पनि अनुगमन गरेको थियो । चितवन राष्ट्रिय निकुञ्ज जोड्ने पुल निर्माण गर्न ईआईए गरी यसै आर्थिक वर्षको अन्त्यसम्म ठेक्का सम्झौता गर्ने तयारी थालिएको बताइन्छ ।
भरतपुर १ देखि गैंडाकोट जोड्ने बागेश्वरी क्षेत्र, घोसार घाट वा गोलाघाट क्षेत्रबाट नवलपुर जोड्ने नारायणी नदीका दुई र धु्रब घाटदेखि निकुञ्ज जोड्ने राप्तीको एक गरि तीन वटा पुल समेतको स्थलगत अनुगमन गरेको पुल महाशाखाले यी एकै पटक ठेक्का सम्झौता गर्ने तयारी भएको जनाएको छ ।