• १३ साउन २०८१, आइतबार

ताप्लेजुङमा ९८ प्रतिशत रोपाइँ

blog

साउन अन्तिम साता रोपाइँ गर्दै आठराई त्रिबेणी गाउँपालिका –३ हाङ्पाङका किसान । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ७ गते । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार धान खेती लगाउने मौसम सकिँदा अर्थात् साउन मसान्तसम्ममा ९८ प्रतिशत रोपाइँ भएको हो ।  

यस वर्ष धान खेती लगाउने मुख्य समय असार पहिलो साताभरी बाढी र पहिरोको असर साथै असार दोस्रो सातापछि पशुचौपायामा लाग्ने रोग लम्पी स्किनको प्रकोप फैलिएपछि ९८ प्रतिशत रोपाइँ भएको छ । बाढीपहिरो तथा लम्पी स्किन रोग लगायतका कारण दुई प्रतिशत भने रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी एवम् कृषि प्रसार अधिकृत विनय महर्जनले बताउनुभयो । 

केही किसानले धानको सट्टा अन्य बाली लगाएका कारण पनि यो वर्ष सत्–प्रतिशत रोपाइँ नभएको महर्जनको भनाइ छ । असार पहिलो साता भीषण वर्षासँगै विभिन्न ठाउँमा गएको बाढी पहिरोका कारण किसानले समयमा रोपाइँ गर्न पाएका थिएनन् । यस्तै, लम्पी स्किन रोगबाट खेत जोत्ने हलगोरुसमेत सङ्क्रमित हुँदा रोपाइँमा असर पुगेको किसानको भनाइ छ । 

बाढीपहिरो र पशुचौपायामा फैलिएको रोगका कारण विगत वर्षका तुलनामा यो वर्ष ताप्लेजुङमा ढिलोगरी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये आठ हजार ३३७ हेक्टर क्षेत्रफलमा धान खेती हुनेगरेको छ । उक्त क्षेत्रफलमध्ये यो वर्ष करिब आठ हजार १७० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 

यहाँका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातका धान खेती लगाउने गरेका छन् । पछिल्लो समय सुख्खा –१, खुमल–४ जस्ता केही उन्नत जातका धानखेती पनि किसानले लगाउन सुरु गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।