• १३ साउन २०८१, आइतबार

डुडुवा गाउँपालिकाले ९० टन बीउ उत्पादन गर्दै

blog

डुडुवामा मूल बीउका लागि लगाइएको धान । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ६ गते । बाँकेका किसानले बीउका लागि सधैं समस्या भोग्नु परेकाले सो समस्या समाधानका लागि जिल्लाको एक पालिकाले यस आर्थिक वर्षमा ९० टन धानको बीउ उत्पादन गर्नेभएको छ । 

नेपालगन्जसँगै जोडिएको डुडुवा गाउँपालिकाले किसानलाई बीउ वितरण गर्नका लागि यस वर्षदेखि बीउ उत्पादनको काम सुरु गरेको जनाएको छ । डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले किसानलाई आगामी वर्षदेखि बितरण गर्नेगरी यस वर्ष नै ३० हेक्टर जमिनमा धानको मुल बीउ छरिएको बताउनुभयो । 

उहाँले आगामी वर्षबाट धान रोपाइँ हुनुअगावै धानको मुल बीउ किसानलाई वितरण गरिने जनाउँदै ३० हेक्टर जमिनमा लगाइएको बीउबाट ९० टन उन्नत जातको बीउ तयार गरी सहकारीमार्फत किसानलाई वितरण गरिने बताउनुभयो ।

कृषि शाखा प्रमुख शर्माका अनुसार ९० टन बीउले एक हजार ५०० हेक्टर जमिनमा धान लगाउन पुग्ने हिसाबले यो वर्ष राधा –४ र रामधानको मूल बीउ उत्पादन गरिनेछ । उहाँले मूल बीउ उत्पादनपछि बीउबिजन प्रयोगशालाले प्रमाणीकरण गरेपछि मात्र पालिकाले कृषि प्रशोधन केन्द्रमा बीउ भण्डारण गर्नेछ ।

बीउ लगाएदेखि उत्पादनसम्मको समयमा बीउ प्रमाणिकरणका लागि कृषि प्राविधिकको टोलीले चार पटकसम्म अनुगमन गर्नेछ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराबाट ८५ रुपियाँ प्रतिकिलोको दरमा बीउ खरिद गरी ल्याइएको छ । 

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गाउँपालिकाले यस वर्ष धान बीउ उत्पादनका लागि २० लाख रुपियाँ लगानी गरेको जनाउँदै यो वर्ष उत्पादित बीउलाई आगामी वर्ष किसानलाई सहकारीमार्फत सहुलियत दरमा वितरण गरिने बताउनुभयो ।

उहाँका अनुसार पालिकाले उन्नत जातको बीउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ । धानको उन्नत बीउ तयार भएपछि यस वर्षदेखि पालिकाले निर्माण गरेको अत्याधुनिक बीउ प्रशोधन केन्द्रमा बीउ भण्डारणको काम पनि सुरु गरिनेछ ।

अध्यक्ष चौधरीका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाले गहुँ, मकै र मसुरोको बीउ उत्पादन गर्ने योजना बनाएको छ । उहाँले बीउ उत्पादन तथा भण्डारणपछि पालिकाका कुनै पनि किसानलाई बीउका लागि सीमापारी जानुपर्ने वा यताउता भौतारिनुपर्ने अवस्था नआउने प्रष्ट पार्दै पालिकाले नै सहुलियत दरमा बीउ र मलखाद वितरण गरी कृषि उत्पादनमा वृद्धि गर्ने बताउनुभयो । 

किसानलाई बीउमा आत्मनिर्भर गराउने पालिकाको रणनीतिअनुसार बीउ भण्डार सुरु गरिएको र बीउ प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवामा छ सय मेट्रिक टन क्षमताको बीउ भण्डारण घर पनि निर्माण गरिसकिएको छ ।