जनार्जन खत्री
सर्लाही, भदौ ४ गते । सर्लाहीमा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट पहिलो चरणमा २८ हजार राष्ट्रिय परिचय पत्र छपाई भई आएको र ती परिचय पत्र सोमबारबाट वितरण गर्न सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले लालबन्दी नगरपालिका–६, निवासी शङ्कर श्रेष्ठलाई राष्ट्रिय परिचय पत्र कार्ड हस्तान्तरण गरी जिल्लामा यसको वितरण कार्य शुभारम्भ गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय मलङ्गवामै पुगेर बायोमेट्रिक दर्ता गराएका २८ हजार जनाको राष्ट्रिय परिचय पत्र प्राप्त भएको कार्यालयले जनाएको छ । नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्व अध्यक्ष समेत रहनुभएका पहिलो सेवाग्राही श्रेष्ठले लामो प्रतीक्षापछि राष्ट्रिय परिचय पत्र पाउँदा खुसी व्यक्त गर्नुभयो ।
श्रेष्ठपछि दोस्रो सेवाग्राहीका रूपमा पुग्नुभएका ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवनगरका सुनिल कुमार साह तेलीले २०७७ साल पुस २ गते विवरण दर्ता गरेकोमा सोमबार बल्ल राष्ट्रिय परिचय पत्र प्राप्त गरेको बताउनुभयो । साहले ढिलो गरी भएपनि पहिलो चरणमै राष्ट्रिय परिचय पत्र प्राप्त गर्दा खुसी व्यक्त गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयले परिचय पत्र छापिएर आएपछि आ–आफ्नो मोबाइलमा म्यासेज आउने भएकाले म्यासेज प्राप्त भएका सेवाग्राहीलाई कार्यालयमा आएर परिचय पत्र बुझ्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले केही समयअघि जिल्लाको २० वटै पालिकाका वडा कार्यालय तथा विद्यालय लगायतका स्थानमा टोली खटाएर तीन लाख १९ हजार २७२ जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण लिने काम गरेको थियो ।
टोली खटिएर विवरण सङ्कलन गरेकाहरूको भने परिचय पत्र छापिएर आउनै बाँकी छ । जिल्लामा राष्ट्रिय परिचय पत्र लागि जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवन तथा बरहथवाबाट नियमित विवरण लिने काम भइरहेको छ ।