• १३ साउन २०८१, आइतबार

नवलपुरमा सत प्रतिशत रोपाइँ, उत्पादन बढ्ने अनुमान

blog

फाइल तस्विर ।

बोमलाल गिरी

नवलपुर, साउन ३२ गते । नवलपुरमा सत प्रतिशत रोपाइँ भएको छ । साउन सकिएसँगै जिल्लामा सत प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । पानी कम परेको हुनाले गत वर्षभन्दा यो वर्ष रोपाइँ ढिला भएको हो । 

गत वर्षमा साउनको दोस्रो हप्तामा करिब रोपाइँ सकिएको भएता पनि यो पटक मसान्तसम्ममा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताउनुभयो।

जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणी धान उत्पादन हुने मुख्य क्षेत्र हुन् । नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ । जिल्लामा यो वर्ष ७६ हजार ९ सय ५६ मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ ।

जिल्लामा स्थानीय जातका सावित्री, सावा, रामधान बढी मात्रामा लगाइएको सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार केही मात्रामा हाइब्रिड धानसमेत लगाइएको छ । 

गतवर्ष बीउका कारण कतिपय धानमा बाला नलागेकाले समस्या परेकाले अहिले बीउ छर्ने सिजनमा नै एग्रोभेटलाई सूचीकृत नभएका धान बिक्री वितरण नगर्न भनिएकाले यो पटक त्यस्तो समस्या नआउने सूचना अधिकारी पौडेलले बताउनुभयो । 

“बिउँका कारण कहिलेकाहीँ धान उत्पादनको समयमा बाला नलाग्ने लगायतका समस्या देखिने गरेको थियो, त्यस्तो नहोस् भन्नका लागि हामीले जिल्लाका एग्रोभेटलाई सूचीकृत नभएका बिउँ विक्री नगर्न सचेत गराएका थियौँ । त्यसैले अहिले बिउँका कारणले उत्पादन घट्दैन”, उहाँले भन्नुभयो ।