काठमाडौं, साउन ३१ गते । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसङ्घको आयोजनामा काठमाडौँमा भएको कार्यशालामा आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिबद्ध भएर काम गरिरहेको बताउनुभएको हो ।
उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भूमिका अग्रणी रहने बताउनुभयो । दिगो विकासका लक्ष्यहरू कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको जानकारी दिनुभयो ।
आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य प्राप्तिका लागि संस्थागत रूपमा संयन्त्र बनाएको पनि बताउनुभयो । उहाँले सरकारले उत्पादन, रोजगार, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको औँल्याउनुभयो ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकार कटिबद्ध भएर लागिरहेको छ । दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भूमिका अग्रणी रहन्छ । नेपालले स्रोतको अधिकतम परिचालन गरिरहेको छ । दिगो विकासका लक्ष्यहरू कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको छ । सङ्घ, प्रदेश र स्थानीय सरकारका नियमित कार्यक्रम र नीतिमा दिगो विकास लक्ष्यका सूचकलाई आन्तरिक रूपमा समावेश गरिएको छ । हामीले विभिन्न तहमा संस्थागत संयन्त्रपनि बनाएका छौँ ।’’
उपाध्यक्ष श्रेष्ठले थप्दै भन्नुभयो, ‘‘प्रधानमन्त्रीको नेतृत्वमा स्टेयरिङ कमिटी छ । मेरो नेतृत्वमा समन्वय र कार्यान्वयन कमिटी बनेको छ र संसदमा पनि दिगो विकास समिति छ । विश्वव्यापी रूपमा २०३० प्राप्त एजेन्डाहरू गम्भीर रूपमा सामना गरिरहेका छौँ । आर्थिक क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न सकेका छैनौँ । हाम्रो ध्यान उत्पादन र उत्पादकत्वमा छ । चालु १५ औँ योजनाले गुणस्तरीय शिक्षा, मजबुत स्वास्थ्य सेवा प्रणाली, भौतिक संरचना, सामाजिक सशक्तीकरण, समावेशीकरण, सामाजिक सुरक्षालाई जोड दिएको छ । र हामी १६ औँ योजना बनाउँदछौ । संरचनात्मक रूपान्तरणलाई ध्यान दिनेछौँ ।’’ उहाँले सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको बताउनुभयो ।