• ३१ वैशाख २०८२, बुधबार

प्रहरीमा सरुवा मापदण्ड

blog

काठमाडौँ, साउन ३१ गते । गृह मन्त्रालयले नेपाल प्रहरीको सरुवा, बढुवा तथा पदस्थापनामा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागु गरेको छ। 

‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९’ अनुसार ठुलो सङ्ख्याका प्रहरी निरीक्षक सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको गृह मन्त्रालयले जनाएको छ। यो मापदण्ड कार्यान्वयनमा आएसँगै पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार तालिमपछि पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवं सहायक दरबन्दीतर्फ सरुवा गरिएको छ। त्यसै गरी ६४ जना प्रहरी निरीक्षकको बढुवा र पदस्थापन भएको छ। यी सबै सरुवा, बढुवा र पदस्थापन ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९’ अनुसार गरिएको मन्त्रालयको दाबी छ।

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको सङ्ख्या, भौगोलिक अवस्थितिलगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ। त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवं कार्यसम्पादनका आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको मन्त्रालयले जनाएको छ।

पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रूपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। त्यसै गरी यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखका रूपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाई मापदण्डबमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ। यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको असर नहुने मन्त्रालयले  जनाएको छ।

प्रजिअको सरुवा

यसैबिच गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयले मङ्गलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। मन्त्रालयका अनुसार सप्तरीको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवनमा, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्याललाई नुवाकोटमा र नुवाकोटको प्रमुख जिल्ला अधिकारी किरण थापालाई सप्तरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।

त्यसै गरी धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको हो।