• १३ साउन २०८१, आइतबार

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आकासियो तरकारीको भाउ

blog

बेदकोट, साउन २९ गते । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एक सातादेखि अवरुद्ध हुँदा कञ्चनपुरमा तरकारीको भाउ आकासिएको छ । 

अविरल वर्षापछि कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा खसेको पहिराले सडक अवरुद्ध बनाएको हो । एक सातादेखि सडक अवरुद्ध भएसँगै सुदूर पहाड उक्लिने र तराइ झर्ने यात्रुलाई सास्ती हुनाका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट नियमित रूपमा तरकारी ढुवानी हुन सकेको छैन । 

पहाडी जिल्लाबाट नियमित तरकारी ढुवानी हुन नसक्दा तराईमा तरकारीको मूल्य आकासिएको छ । तरकारी बोकेर आएका साधन पहिराका कारण बाटैमा रोकिएका छन् । गाडीभित्र रहेको तरकारी कुहिन थालेका छन् । हाल व्यवसायीले भाडामा भारी बोकाएर तरकारी ओसारिरहेका छन् । 

यसरी पहाडी जिल्लाबाट आउने आलु, बन्दा, काउली, बोडी र टमाटरलगायतको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । “आलु ल्याउन सकिएको छैन, ल्याएपछि भाडाले मूल्य दोब्बर भएको छ”, महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी विश्रामसिंह धामीले भन्नुभयो, “एक हप्तामा आलुको मूल्य दोब्बर भएको छ ।”

पहाडी जिल्लाबाट आउने आलु पाउनै मुस्किल हुन थालेको उहाँको भनाइ छ । “४० किलोग्रामको आलुका बोरा महेन्द्रनगरमा एक हजार सात सयमा पुग्थ्यो, अहिले बोराको तीन हजार दुई सय हाराहारी पुगेको छ”, उहाँले भन्नुभयो, “अहिले आलु प्रतिकिलोग्राम ८० सम्ममा बिक्री गर्ने गरेका छौँ ।” बन्दा, काउली, बोडी, मुला र टमाटरको मूल्य अनपेक्षित रूपमा बढेको व्यवसायीको भनाइ छ ।  

एक साता अघिसम्म प्रतिकिलो ४० मा बिक्री भइरहेको बन्दा अहिले ६० मा किन्नु परेको महेन्द्रनगरका उपभोक्ता घनश्याम पन्तले बताउनुभयो । “केही दिनयता तरकारीको भाउ अनपेक्षितरुपमा बढेको छ”, उहाँले भन्नुभयो, “काउली प्रतिकिलो ५० देखि बढेर ७० रुपियाँ पुगेको छ ।” पहाडबाट आउने तरकारी आधा कुहिएको आउने गरेको महेन्द्रनगरस्थित सब्जीमण्डीका व्यवसायी मानबहादुर पालले बताउनुभयो । 

“धेरै दिन लगाएर तरकारी यहाँ आइपुगेको छ, बोरामा तरकारी आधा त कुहिएको आउँछ”, उहाँले भन्नुभयो, “सडक बिग्रिएकाले पहाडबाट आउने तरकारी नियमित आइरहेको छैन, त्यसैले तुलनात्मकरुपमा भाउ बढेको छ ।” रासस