अर्जुन काफ्ले
स्याङ्जा, साउन २९ गते । आँखा पाक्ने तथा दुख्ने सङ्क्रमण बढ्न थालेपछि स्याङ्जामा धमाधम विद्यालयको पठनपाठन बन्द हुन थालेको छ । यहाँका चार पालिकाले सबै र एक पालिकाले एक वडाका सामुदायिक तथा संस्थागततर्फका विद्यालय बन्द गरेको छ ।
आँखा पाक्ने रोग देखिएपछि थप सङ्क्रमण फैलिन नदिनका लागि सूचना निकालेर पुतलीबजार, भीरकोट र गल्याङ् नगरपालिकाले चारदेखि छ दिनसम्म बन्द गरेको छन् ।
यस्तै, अर्जुन चौपारी गाउँपालिकाले पालिका सदरमुकाम रहेको वडा नं १ सोमबारबाट तीन दिन बन्द गरेको छ । वालिङ नगरपालिकाले भने यसअघि नै चार दिन बन्द गरेर सुचारु गरेको छ ।
ग्रामीण क्षेत्रमा भन्दा बजार क्षेत्रका पालिकाहरूमा आँखा पाक्ने रोगको सङ्क्रमण बढी देखिएको छ । विद्यार्थीका पढाइमा असर नपर्ने गरी हिउँदे तथा वर्षे बिदामा पढाउने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले आँखा पाक्ने रोगको सङ्क्रमण बढी देखिएपछि पुतलीबजारले आइतबारदेखि पाँच दिन विद्यालय बन्द गरेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य प्रमुख बसुन्धारा शर्माले आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा लाग्ने, सुनिने, दुख्ने, उज्यालोमा हेर्न कठिन हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराइ स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि गर्न र घरमै आराम गरी सुरक्षित भई बस्न सुझाव दिएको बताउनुभयो ।
सरुवा रोग भएकाले सङ्क्रमित व्यक्तिको नजिक नजाने, सङ्क्रमित भिडभाडमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै रुमाल, सिरानी तन्ना प्रयोग नगर्ने, तथा जथाभाबी आँखा नछुने, आँसु पुछ्नु परेमा छुनु अगाडि र छोइसकेपछि साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता कार्य गर्न शर्माले आग्रह गर्नुभयो ।