काठमाडौँ, साउन २८ गते । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले देशका समृद्धिका लागि बौद्धिक वर्ग सङ्गठित हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली लेखक सङ्घ काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सङ्घ बौद्धिक वर्ग सङ्गठित हुने माध्यम बन्न पनि सुझाउनुभयो ।
सङ्घले स्रष्टाको रचना वाचन गर्ने मञ्च उपलब्ध गराउनसमेत पहल गर्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले आगामी भदौमा बिपी कोइरालाको साहित्यिक व्यक्तित्व र कृतिको सम्बन्धमा नयाँ पुस्तालाई जानकारी दिन र उहाँको बहुमुखी प्रतिभाबारे बहस/चर्चा गर्न बिपी साहित्य सम्मेलनको आयोजना गरिने पनि जानकारी दिनुभयो । सम्मेलनको व्यवस्थापन र संयोजनको जिम्मेवारी दिने सम्बन्धमा नेपाली लेखक सङ्घसँग छलफल गर्ने बताउनुभयो ।
उहाँले सङ्घलाई नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिलाउन पार्टीको बैठकबाट पारित गर्ने आश्वासन पनि दिनुभएको छ । सङ्घको सहअध्यक्ष रत्नमणि नेपालले सङ्घ स्थापनाको इतिहासबारे जानकारी दिँदै वि.स. २००७ सालको क्रान्ति सफल भएपछि लेखक/सर्जक वर्गले अभिव्यक्ति स्वतन्त्रताका लागि एकजुट हुने संस्थाको परिकल्पना गर्दै नेपाली लेखक सङ्घको स्थापना भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक विचारधारालाई समर्थन गर्ने थुप्रै लेखकलाई गोलबन्ध गरेको स्मरण गर्नुभयो । साथै लेखकले रचना/सिर्जनाको माध्यमबाट निरन्तर विचार व्यक्त गर्दै आएको बताउनुभयो । समितिका केन्द्रीय महासचिव सोझो गाउँलेले सङ्घलाई पर्याप्त समय दिन सक्ने व्यक्ति नेतृत्वमा आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सङ्घका सल्लाहकार वियोगी बुढाथोकीले विस २००८ मा स्थापना भएको सङ्घलाई पुनः ब्युँझाउने काम लेखक वर्गले नै विस २०६४ मा गरेको सम्झनुभयो । उहाँले सङ्घमा आबद्ध पुराना सदस्यहरूको खोजी र कदर गर्दै नयाँ सदस्य थप्दै जानुपर्नेमा पनि जोड दिनुभयो ।
नयाँ कार्यसमिति
नेपाली लेखक सङ्घको दोस्रो अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । सङ्घद्वारा शनिबार राजधानीमा आयोजित अधिवेसनले अध्यक्ष विसुकुमार केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष जनार्दन अधिकारी, महिला उपाध्यक्ष विमुन्स पौडेल, सचिव गणेश भट्ट ‘अणु’, कोषाध्यक्ष सुशिला पौडेल, सहसचिव माधव बिडारी, पार्वती अधिकारी निर्वाचित हुनुभएको छ ।
त्यसै गरी सदस्यहरू सुधा बास्कोटा, जगदिश्वर पोखरेल, पुनम घिमिरे, सुस्मिरा अर्याल, शोभा खरेल उप्रेती, हीरा परियार, विनोदकुमार दाहाल ‘वत्स’, पूर्णिमा प्रतिविम्ब निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक वासुदेव गुरागाईले बताउनुभयो ।