• ६ जेठ २०८१, आइतबार

शुद्धोधनको बजेट ५६ करोड ४८ लाख

blog

शुद्धोधन गाउँपालिकाको अठौं गाउँसभा । तस्बिरः नारद कोहार

नारद कोहार
तौलिहवा, साउन २७ गते । 
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५६ करोड ४८ लाख आठ हजार २३ रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आठौँ गाउँ सभामा गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले प्रस्तुत गर्नुभएको बजेट बहुमतले पास गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार मसान्त भित्र ल्याउनुपर्ने नीति तथा कार्यक्रम र बजेट गाउँ पालिकाले भने एक महिना ढिलो गरी ल्याएको हो । बजेट उपाध्यक्षले पेस गर्नुपर्ने भए पनि उपाध्यक्ष होम प्रकाश कुर्मी सभामा अनुपस्थित भए पछि अध्यक्ष चौधरीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

आर्थिक विकासतर्फ चार करोड ७५ लाख ५० हजार, सामाजिक विकासतर्फ २६ करोड ७७ लाख १४ हजार २३ रुपियाँ, पूर्वाधार विकासतर्फ ११ करोड पाँच लाख ९४ हजार, सुशासन विकास तथा अन्तर सम्बन्धी क्षेत्रतर्फ दुई करोड ९८ लाख ४५ हजार तथा कार्यालय सञ्चालन र प्रशासनिक खर्चतर्फ १० करोड ९१ लाख पाँच हजार रकम विनियोजन गरिएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडागतरुपमा समेत बजेट  छुट्टाइएको छ । चालु आर्थिक वर्षका लागि आन्तरिक स्रोततर्फ भने एक करोड ४५ लाख ५० हजार उठ्ने अनुमान गरिएको छ । बजेटले कृषि तथा पशु पालनलाई उच्च प्राथमिकतामा राखेको कृषिलाई व्यावसायिकीकरण गर्नेतर्फ उन्मुख हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

हालसम्म जग्गा विवादले गर्दा गाउँपालिको भवन निर्माण हुन सकेको सन्दर्भमा सो भवन निर्माण सुरु गर्ने सिँचाई, सडक मर्मतमा बजेट खर्च गर्ने कार्यक्रम छ । विपद् र प्राकृतिक प्रकोपबाट हुन सक्ने धनजनको क्षति रोक्न र राहत दिनका लागि समेत बजेटमा रकम छुट्टाइएको छ ।

कोभिड १९ ले गर्दा मुलुक मै आर्थिक मन्दी चलेका अवस्थामा काम गर्न चुनौती रहेको भन्दै गाउपालिकालाई संवृद्ध बनाउन सहमति सहकार्य, एकता र सामूहिक प्रतिबद्धतासहित अघि बढ्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा ५ पालिकाले समयमा बजेट ल्याउन सकेका छैनन् । त्यसमध्ये कपिलवस्तुको शुद्धोधन र मायादेबी गाउँपालिका हो । शुद्धोधनले बजेट एक महिना ढिलो गरी ल्याएको हो ।