काठमाडौं, साउन २४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जानुहुने भएको छ । जनवादी गणतन्त्र चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो ।
मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।
बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै जनवादी गणतन्त्र चीनको कुनमिङ्ग सहरमा साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादवको चीन भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि यादवको यो पहिलो विदेश भ्रमण हो ।