• १२ पुस २०८२, शनिबार

बाढी र पहिरोले तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध

blog

फाइल तस्बिर

काठमाडौं, साउन २४ गते।  वर्षाका कारण तीन वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार चतरा-मूलघाट-माझिटार-अमरापुरडाँडा-गणेशचोक (तमोर कोरिडोर), धनगढी-सहजपुर-बुडर-स्याउले,साझँबाट-थाकतोली-दार्चुला-टिङ्गर र तानसेन-रिडी-कोरला राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन्। 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रवक्ता पोखरेलको भनाइ छ। तमोर कोरिडोरमा ठुलो पहिरो गएर सडक नै बगाएकाले यस सडकखण्डलाई तत्काल खुलाउन नसकिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “पूर्णरुपमा अवरुद्ध भएका सडक सुचारु गराउने प्रयास जारी छ। पहिरो पन्छाउने क्रममा पुनः पहिरो खसेकाले सुचारु गराउन सकिएको छैन। तमोर कोरिडोरमा पहिरोले सडक नै बगाएकाले तत्काल खुलाउन सकिँदैन।”  

आंशिक रूपमा अवरुद्ध सडकलाई पूर्णरुपमा सुचारु गराउनका लागि उपकरण प्रयोग भइरहेको उहाँको भनाइ छ। अहिलेसम्म १३४ सडक अवरुद्ध भएपछि सुचारु भइसकेका छन्। विभागका अनुसार यस वर्ष कुल १७२ सडकमा अवरोध सिर्जना भएको छ।