छाडेको छैन । आज पनि हाम्रा शैक्षिक संस्थाहरू समाजमा आफ्नो शैक्षिक संस्थाको नाम, दाम र शान बढाउने ध्येयले परीक्षामा उच्च अङ्क ल्याएर परिचित हुनका लागि घोकन्ते विद्यामा जोड दिइरहेका छन् । दुःखका साथ भन्नु पर्छ यसले सिक्ने, सिकाउने ज्ञानको मन्दिरलाई व्यापार गर्ने व्यावसायिक संस्थाको छविमा परिवर्तन गरिरहेको छ ।
घोकन्ते विद्याले बालबालिकाको धेरै पक्षमा प्रभाव पारेको देखिन्छ । यसले बालबालिकाको सामाजिक, शैक्षिक, मानसिक जस्ता विभिन्न पक्षमा नकारात्मक असर पारेको देखिन्छ । यसले बालबालिकाको पूर्ण रूपमा खोज, अध्ययन, अन्वेषण, अनुसन्धान गर्ने, सिर्जना गर्ने, कल्पना गर्ने क्षमतालाई पूर्ण रूपमा नष्ट गर्छ ।
फलस्वरूप यसलाई बालबालिकाले बोझका रूपमा लिने गरेका छन् । यसले बालबालिकालाई आफूले सिकेको कुरालाई व्यवहारमा उतार्ने वा प्रयोग गर्ने अवसरबाट वञ्चित गर्छ । यसले बालबालिकामा आफूले पढेको कुरा घोकेर केबल परीक्षामा राम्रो अङ्कका साथ पास हुन अथवा राम्रो ग्रेड ल्याउनका लागि घोक्ने हो भन्ने मनोविज्ञानको विकास गर्छ जसले गर्दा उनीहरूले आफूले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्दैनन् । घोकन्ते विद्याबाट प्रदान गरिएको ज्ञान अपूर्ण, अपुरो हुनुका साथै समय सान्दर्भिक पनि हुँदैन । यस्ता ज्ञानले वर्तमान समयसँग मेल खाँदैन र सिकाइ निष्फल हुन्छ ।
सबैभन्दा ठुलो कमजोरी नै हाम्रो सिकाइ पद्धति वा क्रियाकलाप अनुकरणमुखी भयो । हामीले सिर्जनशील हुन सिकाएनौँ, नक्कल मात्र गर्न सिकायौँ । खोजी गर्न र समस्याको आफैँ समाधान गर्न सिकाएनौँ । पढ पढ मात्र भन्यौँ । त्यसैले घोकन्ते विद्यामा अभ्यस्त बनायौँ अनि आफूले जसरी जानेको छ, त्यसरी नै गाइड गयौँ । शिक्षकले आफूलाई सर्वेसर्वा ठान्नै हुँदैन ।
उदाहरणका रूपमा मैले मेरै प्रसङ्गलाई जोडेँ । मेरो विद्यालय शिक्षा घोकन्ते विद्याबाट केही टाढा थियो । शिक्षकहरूले पढाउने समयमा पनि नोट नलेखाएर विषयवस्तुलाई राम्रोसँग बुझाएर विद्यार्थीलाई नै अभ्यास गर्न, विषयवस्तुको प्रस्तुतीकरण गर्न दिनु हुन्थ्यो अथार्त् ‘गरेर सिक्ने’ पद्धतिलाई जोड दिनु हुन्थ्यो । जसले गर्दा विद्यार्थीमा लेख्ने, तर्क गर्ने, चिन्तन गर्ने, खोज्ने र विषयवस्तुलाई नजिकबाट बुझ्ने बानीको विकास हुन्थ्यो ।
तर स्नातक तहको अध्ययनसँगै म यस्ता गतिविधिबाट टाढा हुँदै गएँ । ‘गरेर सिक्ने’ विधिको प्रयोग नहुँदा मुख्यतः लेख्ने, तर्क गर्ने, चिन्तन गर्ने, खोज्ने बानी हराउँदै जाँदो रहेछ र शिक्षकमा परनिर्भर हुँदो रहेछ ।
मेरो उदाहरणको सार यदि हामीले घोकन्ते विद्यालाई विस्थापित गयौँ र ‘गरेर सिक्ने’ बानीको विकास गयौँ भने यसले विद्यार्थीको लेख्ने, तर्क गर्ने, विचार विमर्श गर्ने, चिन्तन गर्ने, विषयवस्तुलाई नजिकबाट बुझ्ने बानीको विकास भई बालबालिकाको सबै पक्षमा विकास हुन्छ ।
अन्त्यमा भन्नु पर्दा आजको युगमा आइपुग्दा पनि हामीले प्राग् ऐतिहासिक कालदेखि चल्दै आएको घोकन्ते विद्यालाई प्राथमिकता दिइरहेका छौँ । शिक्षालाई समय सुहाउँदो बनाउनका लागि, सान्दर्भिक बनाउनका लागि र बालबालिकाको चौतर्फी विकासका लागि घोकन्ते विद्यालाई विस्थापित गरी ‘गरेर सिक्ने’ पद्धतिलाई आत्मसात् गर्नु नै उपयुक्त हुन्छ ।