ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रिय परीक्षा बोर्डले लिएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई हौसला प्रदान गर्न गाउँपालिकाले २४ हजार रुपियाँ नगदसहित पुरस्कृत गरेको हो ।
गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित कार्यक्रममा गाउँपालिकाले २०८१ को एसइईमा ३.६० जिपिएदेखि माथि ल्याएर उत्तीर्ण हुने तीनजना विद्यार्थीलाई जनही २४ हजार रुपियाँ नगद र प्रमाणपत्रले सम्मान गरेको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।
वडा नम्बर ६ घारस्थित मुक्तिमार्ग माविबाट एसइईमा सहभागी ललिता खड्काले ३.८० जिपिए,वडा नम्बर १ को कैलाश मावि दोबाकी युना राम्जालीले ३.७१ जिपिए र सुजता राम्जालीले ३.६५ जिपिए प्राप्त गरेर उत्तीर्ण हुनुभएको थियो । गाउँपालिकाले बनाएको कार्यविधि अनुसार उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी छनोट गरी सम्मान गरिएको शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा र प्रमुख प्रशासकीय अधिकृत रामप्रशाद शर्मा कँडेल, गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामी लगायतले उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनले विद्यार्थीलाई हौसला प्रदान गर्न गाउँपालिकाले विगत दुईवर्ष देखि एसइईमा सहभागी भएर उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने गरिएको बताउनुभयो । यो कार्यक्रम आगामी वर्षका लागि पनि निरन्तरता दिएको उहाँको भनाइ छ ।
आगामी आर्थिक वर्षदेखि एसइई परीक्षा उत्तीर्ण गरी गाउँपालिकाकै विद्यालयहरुमा साधारण तर्फ कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई नगद १० हजार र प्राविधिक धारतर्फ भर्ना हुने विद्यार्थीहरुलाई नगद १५ हजार रुपियाँ छात्रवृत्ती प्रदान गर्ने कार्यक्रम राखिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
यसैगरी, प्रदेश र राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेर पदक प्राप्त गर्ने पाँचजना खेलाडीहरुलाई पनि नगदसहित गाउँपालिकाले सम्मान गरेको शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुक्तिमार्ग मावि घारमा अध्ययनरत उसुका खेलाडीहरु आनन्द बरुवाल, सलिना बरुवाल, विशाल बरुवाल, प्रकृति खड्का र बेबिका बरुवाललाई क्रमशः नगद दशहजार, पाँच हजार र तीन हजारका दरले पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ । गाउँपालिकाबाट यसवर्ष एकसय २८ जना एसइईमा सहभागी भएकोमा ९२ जना उत्तीर्ण भएको शिक्षा शाखा संयोजक कटुवालले बताउनुभयो । उहाँका अनुसार प्राविधिक धारतर्फ सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।