• १३ साउन २०८१, आइतबार

दुध बिक्री भएपछि ठेकी लोपोन्मुख

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, साउन २४ गते । दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ। किसानले गाईभैँसी पाल्न छाडेपछि गाउँबस्तीमा ठेकी प्रयोगमै आउन छाडेको हो। त्यसो त बजारमा प्लास्टिकका भाँडा सस्तोमा पाइन थालेपछि पनि काठका ठेकी प्रयोगमा कमी आएको हो। गाईभैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन, दही जमाउन प्रयोग हुने ठेकीको सट्टा प्लास्टिकका भाँडा बजारमा सस्तोमा पाइन्छ। यसले गर्दा परम्परागत गिठो, खिरोलगायत नरम काठबाट स्थानीयस्तरमै उत्पादन हुने काठका ठेकी लोप भएका हुन्। 

नलगाड नगरपालिका–४ का मालबहादुर खत्रीका अनुसार विगतमा दुध बिक्री हुँदैनथ्यो। दुध जमाउन ठेकी प्रयोग हुन्थ्यो। अहिले बजारमा दुधकै माग बढेपछि दुध जमाउने र घिउ बनाउने कार्य प्रायः किसानले छाडिसकेका छन्। उहाँले भन्नुभयो, “भैँसीबाट राम्रो आम्दानी हुने देखेपछि पाँचवटा भैँसी पालेको छु। दुध बजारमा बिक्री हुन्छ। दुध जमाउनु नै पर्दैन। घरमा एक थोपा दुध रहँदैन, के गर्न ठेकी राख्ने ?”

नलगाड–४ का लालबहादुर वलीका अनुसार विगतमा सबै घरमा भैँसी हुन्थे। दुध बिक्रीवितरण हुँदैनथ्यो। दुध जमाएर दही घिउ बनाइन्थ्यो। पछिल्लो समय दुध बजारमा जाने भएपछि ठेकी विस्थापित भएका हुन्।