केदार तिमल्सिना
काभ्रेपलान्चोक, साउन २४ गते । वर्षायाम सुरु भएसँगै पुण्यमाता खोलामा आउने बाढीका कारण बनेपाका विभिन्न क्षेत्र डुबानमा पर्ने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुण्यमाता खोला आसपासको क्षेत्रमा हुने डुबान समस्याको समाधानका लागि समिति गठन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा मङ्गलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले बनेपा पुल बजारदेखि खडपु पुलसम्मको क्षेत्रमा हुने डुबान र राजमार्गमा हुने अवरोधको अल्पकालीन समस्या समाधानका सुझाव सहित तीन दिनभित्र दीर्घकालीन समस्या समाधानका सुझावसहित ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो । बैठकले सहरी विकास तथा भवन कार्यालयको प्रमुखको संयोजकत्वमा जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सूर्यविनायक–धुलिखेल– सिन्धुली बर्दिबास सडक आयोजना, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय भक्तपुर इन्जिनियर, बनेपा नगरपालिकाका इन्जिनियर सदस्य सचिव रहेको समिति गठन गरेको हो ।
बैठकले निजी सामुदायिक, सरकारी क्षेत्रबाट हुने विकास निर्माणका कार्यहरू (बाटो, पुल, जग्गा प्लटिङ आदि) गर्दा भूक्षय हुन नपाउने, माटो बालुवा नबग्ने र नथुप्रिने प्रबन्ध मिलाएर मात्र काम गर्ने, विपद्का घटनाहरूबाट अवरुद्ध सडक खुलाउने कार्य मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अनु्रुप सम्बन्धित जिम्मेवार निकायले गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । बैठकले खोज तथा उद्धार, राहत, पुनर्लाभ तथा पुनर्स्थापना कार्यका लागि अन्तर जिल्ला समन्वयका साथै आवश्यकता अनुसार अन्तर स्थानीय तह समन्वय ÷सहकार्य गर्ने, स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सञ्चालनलाई थप प्रभावकारी बनाउने र आपत्कालीन कार्य सञ्चालन केन्द्रहरू बिचको सूचना आदानप्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले सबै स्थानीय तहहरूले मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० ले पहिचान गरेका आ–आफ्नो क्षेत्र भित्रका संवेदनशील क्षेत्रका साथै अन्य जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउनुका साथै विपद् व्यवस्थापनका कार्यहरू प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको हो । बैठकले हाल तीव्र गतिमा फैलिएको डेङ्गु र आँखा पाक्ने रोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य कार्यालयले समन्वय र सहजीकरण गर्ने तथा सबै स्थानीय तहहरूले सो रोग फैलिन नदिन सचेतना कार्यक्रम सञ्चालन गर्नेलगायतको निर्णय गरेको छ ।