• २३ पुस २०८१, मङ्गलबार

जानकारी लिन जे सिके पनि हुन्छ ‘जेमा लागिन्छ, मेहनतसहित लाग्नु पर्छ’

blog

‘बालकसँग स्रष्टा संवाद’ मा यस पटक हामीले साहित्यकार तथा समालोचक प्रमोद प्रधानसँग संवाद गरेका छौं । विसं २०१५ मा विराटनगरमा जन्मनुभएका साहित्यकार प्रधानले बालसाहित्य क्षेत्रमा प्रशस्त योगदान पु-याउनुभएको छ । बालबालिकाका लागि विगत तीन दशकदेखि जानकारीमूलक, ज्ञानवद्र्धक पाठ्यसामग्रीसहित ‘मुना’ प्रकाशन हुँदै आएको छ । र, यस मुना पत्रिकामार्फत बालबालिकाको पठन र लेखन संस्कृति कसरी बढाउन सकिन्छ भनेर मुना पत्रिकाले बालबालिकालाई वरिष्ठ साहित्यकारसँगको कुराकानी प्रकाशनमा ल्याउन थालेका हौँ । र, हामीले यस अङ्कमा अध्यापन पेसामा कार्यरत तथा लेखिका देवु लुइँटेलको संयोजनमा यो स्तम्भ एम्बिसन एकेडेमी काठमाडौँमा कक्षा १० मा अध्ययनरत छात्रा प्रविज्ञा नेपालले  साहित्यकार प्रधानसँग गर्नुभएको संवाद : 


 तपाईंलाई बालसाहित्य के हो जस्तो लाग्छ ?

मेरो विचारमा पाठकका रूपमा बालबालिकालाई पहिलो प्राथमिकता दिने साहित्य बालसाहित्य हो । यसको रचना प्रक्रिया पनि बालबालिका अनुरूप नै हुन्छ । यसमा विषय वस्तु, पात्र, भाषा, संवाद, संदेश जस्ता सबै कुरा बालबालिकाको रुचि र चेतना अनुसारकै हुन्छन् । बालसाहित्यको रचना बालबालिकाले अनि प्रौढ उमेरका सर्जकले पनि गर्न सक्छन् । यसका पाठक पनि बाल तथा प्रौढ दुवै हुन सक्छन् तर यसका मूल केन्द्र बालबालिका हुन्छन् अनि यसको प्रस्तुति सरल र मनोरञ्जन हुन्छ ।


 तपाईं आफैँलाईं बालसाहित्य लेख्न केले प्रेरणा दियो ?

म सिर्जना यात्राको सुरुवाती समयमा बालसाहित्यप्रति त्यति सचेत रहेन छु अर्थात् त्यस समयमा प्रौढ साहित्य नै लेख्दथेँ । विसं २०४३/४४ तिर तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान (हालको नेपाल प्रज्ञा–प्रतिष्ठान) ले बालसाहित्यसम्बन्धी सम्मेलनको आयोजना ग¥यो र मैले पनि त्यसमा सहभागी हुने अवसर पाएँ । उक्त सम्मेलनमा भारतका प्रसिद्ध बालसाहित्यका चिन्तक, सर्जक मनोरमा जफा पनि आउनुभएको थियो । त्यसै कार्यक्रममा भएको बहस र प्रभावले मलाई बालसाहित्यको लेखन र अध्ययनतिर आकर्षित गरेको हो ।


 अनि बालकविताचाहिँ कहिले र कसरी लेख्न थाल्नुभयो ?

मैले अघिल्लो प्रश्न अथवा बालसाहित्य लेखनको प्रभावको कुरासम्बन्धी प्रश्नको उत्तरमा नै यस प्रश्नको उत्तर पनि भनिसकेको छु अर्थात्  प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमपछि मैले बालसाहित्य लेख्न थालेको हुँ । मेरा बालसाहित्यिक फुटकर रचना २०४४/४५ देखि नै प्रकाशनमा आएका छन् । बालसाहित्यको पहिलो पुस्तकाकार रचनाचाहिँ २०५३ सालमा छापिएको छ ।


 हालसम्म के कस्ता विधाका के कति ग्रन्थ लेख्नुभएको छ ?

मैले बालबालिका र प्रौढ दुवै पाठकका लागि विभिन्न विधाका साहित्य रचना र समालोचनासमेत गरेको छु । बालसाहित्यका सम्बन्धमा भने हालसम्म मेरा बालकविता, बालचित्र कथा, चित्रकथा, जीवनी (बालोपयोगी), तथ्यपुस्तक, अनुवाद, विसङ्केतन पुस्तक गरी २७ वटा अनि बालसाहित्यसम्बन्धी अनुसन्धान, समालोचना तथा सम्पादनका आठ वटा पुस्तकका रूपमा अनि विभिन्न पत्रपत्रिकामा चाहिँ धेरै लेख रचना छापिएका छन् । 


 बालबालिकाले कस्ता पुस्तक पढ्नु पर्छ ?

अहिलेको समयमा पढ्न चाहनेका लागि जति पनि सामग्री पाइन्छन् । अझ बालबालिकाले पढेको महसुस नै नगरी टेलिभिजन, मोबाइल, कम्प्युटर आदिबाट पनि विभिन्न कुरा सिकिरहेका, पढिरहेका हुन्छन् । यसरी धेरै कुरा प्राप्त गरे पनि छानेर वा चयन गरेर पढ्नु भनेको फरक कुरा हो । यो चयन गरिदिने काम तिनका अभिभावकले गरिदिनु पर्छ । बालबालिकाले जानकारीमूलक, जीवनका लागि चाहिने, विविधताले भरिएका अनि शिष्टाचार, सदव्यवहार, सामाजिकता, नैतिकता सिकाउने सामग्री, विषय र सन्देश भएका पुस्तक राम्रो हुन्छ ।


 तपाईंको आफ्नो र अहिलेको बालबालिकाको पुस्तामा के फरक पाउनुहुन्छ ?

पहिले र अहिलेको पुस्तामा धेरै भिन्नता छ । पहिलेका पुस्ताको समय सूचनाका हिसाबले अँध्यारो अनि अवसरका हिसाबले सङ्घर्षको समय थियो । अहिले घरमै बसी बसी संसार बुझ्न पाउने अनि अवसरै अवसरको समय छ । अहिलेका अभिभावकहरू पनि आफ्ना बालबालिकाका लागि सचेत र बढी जिम्मेवार हुनुहुन्छ । यति हुँदाहुँदै पनि सामाजिकता र व्यावहारिक परिपक्वताका हिसाबले भने अहिलेका बालबालिकामा अलि बेवास्ता पाइन्छ अनि प्रविधिको दुरुपयोग गर्ने सम्भावना पनि बढी पाइन्छ । समय र साधनको उपयोग गर्न सके अहिलेको पुस्ता धेरै भाग्यमानी भएको लाग्छ ।


 बालसाहित्यसम्बन्धी कुनै चार पुस्तक छान्नु प-यो भने तपाईं कुन कुन छान्नुहुन्छ ?

अहिलेको बजारमा बालसाहित्यसम्बन्धी मात्र पुस्तक पनि धेरै सङ्ख्यामा पाइन्छन् । तीबाट पाँच वटा मात्र राम्रा पुस्तक अनि अरू चाहिँ सबै नराम्रा भन्न सकिँदैन र मिल्दैन पनि । अहिले सम्झनामा आएका राम्रा पुस्तकमा माधव घिमिरेको सुनपङ्खी चरी,  विनय कसजुको स्माइल प्लिज, रामबाबु सुवेदीको पानी पानी, कृष्णप्रसाद पराजुलीको रमाइला नानी आदि हुन् ।


 अहिलेका बालबालिकालाई सुनाउन लायक तपाईंका आफ्ना बाल्य अनुभव केही छन् ?

मसँग अहिलेका बालबालिकाले सुन्दा अनौठा र रमाइला लाग्ने धेरै घटनाको अनुभव छ । तीमध्ये हाम्रो पुस्ता कति पछि थियो भन्ने कुरा बुझाउने एउटा घटना स्मरण गर्छु । म जलेश्वरमा ३–४ कक्षामा पढ्थेँ । त्यति बेला विद्यार्थीको वार्षिक नतिजामा अतिरिक्त क्रियाकलापको अङ्कबाट पनि निश्चित प्रतिशत जोडिन्थ्यो । मैले एक पटक गीत गाउने कार्यक्रममा भाग लिएँ र रेडियोबाट सुनेको एउटा गीत गाएँ पनि । मैले धेरै पछि मात्र थाहा पाएँ कि त्यस बेला मैले गाएको गीत गीत नभएर जुत्ताको विज्ञापन रहेछ । 


 अहिलेका बालबालिकालाई के सल्लाह र सुझाव दिनुहुन्छ ?

अहिलेका बालबालिकासँग धेरै अवसर र सम्भावना पनि छ । यो अवसर र सम्भावनाको उपयोग गर्नु पर्छ । पढ्ने र सिक्ने कुरा जे सिके पनि हुन्छ तर जेमा लागिन्छ, मेहनतसहित लाग्नु पर्छ । असल, नैतिकवान्, देशभक्त र सबैले सम्मान अनि गौरव गर्न लायक बन्नु पर्छ । म अहिलेका बालबालिकालाई यही सल्लाह दिन चाहन्छु ।