नवराज श्रेष्ठ
रामेछाप, साउन २२ गते । रामेछापको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क घुमफिरका लागि खुला गरिएको छ ।
नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, सहिद गङ्गालाल र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्मिएको जिल्ला रामेछापको मन्थली नगरपालिका–१, गढवारीमा उहाँहरूको सम्झनामा पार्क निर्माण गरिएको हो । मन्थली नगरपालिका र सङ्घीय सरकारको छ करोड ८६ लाख २१ हजार रुपियाँ लगानीमा निर्माण गरिएको पार्क नगरपालिकाले अहिले अस्थायी रूपमा सञ्चालनमा ल्याएको जनाएको छ ।
१७ रोपनी क्षेत्रफलमा रहेको सो पार्कमा दुईतले प्रशासनिक भवन, सभाहल, तीन वटा पौडी पोखरी, चेन्जिङ रुम तथा स्नान कक्षसमेत छन् । त्यस्तै चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचासहितको पार्क रहेको छ ।
खासै घुमफिर गर्ने ठाउँ नभएको सदरमुकाम मन्थलीमा तीनलाल पर्यटकीय पार्क सञ्चालनमा आउनु धेरै राम्रो भएको स्थानीय रामप्रसाद देवकोटा बताउनुभयो । “लामो समयपछि निर्माण सम्पन्न भएको पार्क अहिले नगरले अस्थायी रूपमा सञ्चालन गरेको छ । पार्क सञ्चालन भएपछि घुम्न आउने आन्तरिक पर्यटक बढेका छन् । अब यसलाई चाँडै नै व्यवस्थित गरी दिगो रूपमा सञ्चालन गर्न सके विदेशी पर्यटक पनि आउँथे,” उहाँले भन्नुभयो ।
अहिले मन्थली नगरपालिका आफैँले अस्थायी रूपमा पार्क सञ्चालन गरिरहेको नगरपालिकाको राजस्व उपशाखाका कार्यालय सहायक रामबहादुर माझीले जानकारी दिनुभयो । अन्य दिनभन्दा शनिबारका दिन पार्क घुम्न र पौडी खेल्न आउनेको सङ्ख्या क्रमशः बढिरहेको उहाँले बताउनुभयो । “भर्खरै सञ्चालन भएको पार्कबाट अन्य दिन खासै नभए पनि शनिबारका दिन भने १२ हजार रुपियाँसम्म नगरपालिकालाई आम्दानी भइरहेको छ,”
उहाँले भन्नुभयो ।
नेपाली र विदेशीलाई फरक प्रवेश शुल्क पार्कमा प्रवेश र पौडी खेल्न नेपाली र विदेशी नागरिकलाई फरक फरक शुल्क निर्धारण गरिएको छ । बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली नागरिकलाई पार्क प्रवेश शुल्क २५ रुपियाँ तोकिएको छ ।
भारतीय नागरिकलाई प्रवेश शुल्क सय रुपियाँ र अन्य मुलुकका लागि दुई सय रुपियाँ तोकिएको छ । पौडीका लागि बालबालिकालाई ७५ रुपियाँ र वयस्कका लागि १५० रुपियाँ तोकिएको छ । पौडी खेल्न भारतीय बालबालिकाले तीन सय र वयस्कले पाँच सय रुपियाँ तिर्नुपर्ने छ । भारतबाहेकका मुलुकका बालबालिकाका लागि पाँच सय र वयस्कका लागि एक हजार रुपियाँ शुल्क तोकिएको छ ।
अहिले अस्थायी रूपमा नगरपालिका आफँैले सञ्चालन गरिरहेको पार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नगरपालिकाले टेन्डर आह्वान गरेको छ । पार्क सञ्चालनका लागि नगरपालिकाले केही दिनअघि वार्षिक रूपमा न्यूनतम २० लाख रुपियाँमा ठेक्का लगाउने गरी नगरपालिकाले तीनलाल पर्यटकीय पार्कको टेन्डर आह्वान गरेको नगरपालिकाको पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताउनुभयो । “नगरपालिकाले पार्क ठेक्कामा लगाउन टेन्डर निकालेको छ । ठेक्कामा नलागुन्जेल नगर आफैँले पार्कको सञ्चालन र व्यवस्थापन गर्छ,” उहाँले भन्नुभयो ।