• १४ पुस २०८१, आइतबार

बालविवाहविरुद्ध देउडा गीत

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २२ गते । बालविवाहविरुद्ध विद्यालयका छात्राहरू गाउँ गाउँमा देउडा गीतमार्फत जनचेतना फैलाउन थालेका छन् । जिल्लाका अधिकांश गाउँमा बालविवाह न्यूनीकरण हुनुपर्नेमा वृद्धि हुन थालेपछि विद्यालयका छात्रा यसरी जुटेका हुन् ।  

सिमकोट गाउँपालिका–८ को सैपाल माध्यमिक विद्यालयकी छात्रा जानकी बुढाले बर्सेनि बालविवाह बढिरहेकाले विद्यालयमा छात्रा मिलेर देउडा गीतमार्फत जनचेतना फैलाउन सुरु गरेको बताउनुभयो । यसअघि उहाँसहित विद्यालयका बिस जना छात्राले बालविवाहविरुद्धको तालिम लिनुभएको थियो । उहाँले गाउँ गाउँमा बालविवाह हुने तर उजुरीसमेत नपर्ने भएकै कारण यो सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । उहाँले देउडा गीतमा सबै बालविवाहविरुद्धका सन्देश रहेको बताउँदै यसबाट स्थानीयवासीलाई बालविवाहविरुद्ध जागरुक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । देउडा गीतमा ‘म बालविवाह गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्ने टुक्का राखिएको छ । हालसम्म उहाँको समूहले चार वटा गाउँमा देउडा गीत गाउने कार्यक्रम गरिसक्नुभएको छ । उहाँले पढाइलाई पनि बाधा नपुग्ने गरी शुक्रबार र शनिबार यो कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

देउडा गीत गाउने कार्यक्रम स्थलमा माइकिङ गरेर स्थानीयलाई जम्मा गर्ने त्यसपछि गाउने गरिएको छ । यो कार्यक्रम वडाभरिका सबै बस्तीमा सञ्चालन गर्ने र छिमेकी वडाका गाउँमा जाने कार्यक्रम पनि उहाँले तय गर्नुभएको छ । स्वयम्सेविका रूपमा विद्यालयका छात्राले यो जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएपछि विद्यालयले पोसाक, मादल र माइकको व्यवस्था गरेको छ ।