• १६ पुस २०८१, मङ्गलबार

पत्रु एम्बुलेन्सको ‘मोबाइल क्लिनिक’ स्थगित

‘ब्लु बस’मा रङ र रुटको समस्या

blog

वसन्त पराजुली/दीपक गौतम

चितवन/वीरगन्ज, साउन २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मोबाइल क्लिनिक चलाउन प्रयोग गरेको गाडी ना २ च ५६१६ नम्बरको एम्बुलेन्स थियो, त्यो पनि नियम अनुसार पत्रु बनाउनुपर्ने अवस्थामा पुगेको, तर पत्रु बनाउनुपर्ने एम्बुलेन्सको गैरकानुनी रूपमा रङसमेत बदलेर चलाएको समाचार गोरखापत्रमा प्रकाशित भएपछि गाडी परिवर्तन गर्नैपर्ने बाध्यता आएको थियो। 

उहाँले निर्वाचन क्षेत्रमा एम्बुलेन्सलाई ‘मोबाइल क्लिनिक’ मात्र चलाएको होइन अर्को एउटा बसलाई पनि आफ्नै निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क भन्दै ‘ब्लु बस’ सेवा सुरु गर्नुभएको छ। दुवैको रङ नीलो बनाइएको छ। एम्बुलेन्सबारे लेख्दा उहाँले बसमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ। फेसबुकमा लेख्नुभएको “ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छाडेर अब गाडीको पछि ?? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनुहोला। हैट, हेडलाइन आतङ्क र ... हैरानी। सक्दैनौ, सक्दै त सक्दैनौ।”

के छ बसमा समस्या ?

उहाँले दाबी गरेजस्तो ना ५ ख ३१३८ नम्बरको बस पनि समस्यारहित छैन। बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ। यातायात कार्यालय नारायणी, वीरगन्जमा २०७० मा दर्ता भई त्यहाँ र यातायात व्यवस्था कार्यालय, भरतपुरमा समेत रहेको विवरण अनुसार हाल भीमबहादुर तामाङको नाममा दर्ता कायम रहेको बसको रङ ‘हरियो, सेतो, सिल्भर, पहेँलो’ हुनुपर्नेमा स्वीकृतिबिना नै नीलो बनाइएको हो। 

यी दुवै कार्यालयमा रहेको रेकर्डमा रङ परिवर्तनका लागि निवेदनसमेत दिएको देखिँदैन। यातायात व्यवस्था कार्यालय, वीरगन्जका कार्यालय प्रमुख उमेश रेग्मी र यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले कुनै पनि कार्यालयमा रङ परिवर्तनका लागि निवेदन नपरेको बताउनुभयो। यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले अनुमति नलिई सवारीसाधनको रङ परिवर्तन गरे कारबाही हुने बताउनुभयो तर यातायात व्यवस्था कार्यालय, भरतपुरले २०८० वैशाख १९ गते जारी गरेको जाँचपास प्रमाणपत्रमा भने ‘सुगा, हरियो, सेतो, सिल्भर पहेँलो, नीलो, गुलाबी’ लेखिएको छ। यो दर्ता हुँदा भनिए अनुसारको रङ होइन। 


यातायात कार्यालय, भरतपुरका अधिकृत सुरेश चपाई पनि सवारीसाधनले कार्यालयको अनुमति लिएर मात्रै रङ परिवर्तन गर्न पाउने बताउनुहुन्छ तर बसका सञ्चालक तामाङले भने आफूलाई कार्यालय भरतपुरले दिएको जाँचपास प्रमाणपत्रमा नीलो रङको पनि अनुमति दिएको दाबी गर्नुभयो। “हेर्नुस् मसँग भएको प्रमाणपत्रमा नीलो रङको पनि अनुमति छ,” उहाँले भन्नुभयो। 

रङका साथै बस सञ्चालन गर्ने सडक अनुमति (रुट परमिट) पनि दर्ता हुँदाको वीरगन्ज, नारायणगढ, पोखरा, बाग्लुङ हो। त्यसै अनुसार पटक पटक नवीकरण भएको छ तर यो बस अहिले चितवनका भित्री सडकमा निर्विवाद गुडिरहेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ कुनै पनि भाडाका गाडीले जुन रुट परमिट लिएका छन्, त्यसैमा मात्र चल्नुपर्ने बताउनुहुन्छ। बाहिर चलाउनु परे अस्थायी परमिट लिनु पर्छ। सो बसले अस्थायी पटके पनि लिएको देखिँदैन। यसरी रुट परमिट नलिई चलाइएका भाडाका सवारीसाधनबाट ट्राफिक प्रहरीले हरेक पटक एक हजार पाँच सय रुपियाँसम्म जरिबाना गर्न सक्ने उहाँले जनाउनुभयो। 

गत साउन १७ गतेदेखि ‘ब्लु बस’ का रूपमा सञ्चालनमा आएको सो बस अहिले शक्तिखोर भरतपुर, नारायणगढ, रामनगर, नारायणगढबाट पश्चिमसम्मका भित्री सडकमा गुड्छ। बसका सञ्चालक भीमबहादुर तामाङ भने सो रुटमा अहिले पनि रुट परमिट नै नभएको दाबी गर्नुहुन्छ। “शक्तिखोर भरतपुर सडकमा रुट परमिट नै दिइँदैन। हामीले अन्यत्रकै परमिट लिएर चलाउने हो,” उहाँले भन्नुभयो। 

सो बस रास्वपाले मासिक एक लाख ३५ हजार रुपियाँ तिर्ने गरी भाडामा लिएको हो। बसमा चढ्न रास्वपाले महिलाका लागि कार्ड बनाएको छ। 


एम्बुलेन्स फिर्ता विवाद

राष्ट्रिय स्वतन्त्र पार्टी, स्वास्थ्य तथा जनसङ्ख्या विभाग, बागमती प्रदेशका संयोजक तथा कलेज अफ मेडिकल साइन्सका निर्देशक प्राडा मनोहर प्रधानले विवादित एम्बुलेन्स कलेज अफ मेडिकल साइन्स भरतपुर चितवन (पुरानो मेडिकल कलेज) लाई नै फिर्ता गरी मोबाइल क्लिनिकले अन्य सवारीसाधन प्रयोगमा ल्याएको बताउनुभयो तर उहाँकै कलेजले भने फिर्ता नभएको जनाएको छ। पुरानो मेडिकल कलेजको सवारीसाधन व्यवस्थापन युनिटका प्रमुख हिमनाथ घिमिरेले एम्बुलेन्स फिर्ता आएको नभई आउने जानकारी मात्र आएको बताउनुभयो। 

“मेडिकल कलेजमा अहिलेसम्म त्यो एम्बुलेन्स फिर्ता आएको छैन। एम्बुलेन्स लैजाँदा जुन रङ र अवस्थामा थियो, त्यही अवस्थामा फिर्ता हुनु पर्छ भन्ने हाम्रो अडान छ। त्यो भएन भने हामी एम्बुलेन्सको चाबी बुझ्दैनौँ,” उहाँले भन्नुभयो। 

“एम्बुलेन्स डेन्टिङपेन्टिङका लागि अहिले काठमाडौँ लगिएको छ। यसको पुरानै रङ बनाएर मात्र कलेजमा ल्याइने छ,” उहाँले भन्नुभयो।