• १३ साउन २०८१, आइतबार

सुन्दर पर्यटकीय गन्तव्य खयर ताल

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरलेकमा रहेको खयर ताल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १९ गते ।
वरिपरी सेताम्मै हिमाल । तालदेखि माथि अन्नपूर्ण हिमाल ठिङ्ग उभिए जस्तो देखिन्छ । हरियाली डाँडाकाँडा र मनोरम वातावरण । हिमालको फेदीमा सुन्दर र आकर्षक खयर ताल । ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरलेकमा रहेको खयर ताल चार हजार ६३० मिटरको उचाइमा अवस्थित छ । तालको क्षेत्रफल १० हजार वर्गमिटर छ ।  तालको छेवैमा खयरभारानी थान रहेको छ । पर्यटकीय स्थल खोप्रबाट करिब सात घण्टाको पैदल यात्रापछि खयर तालमा पुग्न सकिन्छ ।

प्राकृतिक हिसाबले खयर क्षेत्र सुन्दर छ । खयर क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला आँखै अघि देख्न सकिन्छ । तालको पानी कहिल्यै सुक्दैन तर पानीको मूल पनि देखिँदैन ।


पाउद्वार गाउँदेखि खयर ताल २६ किलोमिटरको दूरीमा पर्दछ । स्थानीयहरुले चन्दा सहयोग सङ्कलन गरे पदमार्ग  निर्माण गरेका छन् । खयर क्षेत्रको पर्यटन प्रवर्द्धनका  लागि स्थानीयहरु जुटेका छन् । खयर क्षेत्रको प्रवर्द्धनका लागि सक्रिय पाउद्धारका राजु पुनले खयरक्षेत्रको प्रचारप्रसार र पर्यटन मैत्री पूर्वाधार निर्माण गरेमा आगामी दिनमा पर्यटन आगमन बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । 

खयरलेक प्राकृतिक तथा धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । खयरभारानीको दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासले प्रत्येक जनैपूर्णिमाका दिन यहाँ सयौंको सङ्ख्यामा भक्तजनहरु दर्शन र पूजाका लागि पुग्ने गर्दछन् ।