काठमाडौँ, साउन १९ गते । सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनी लिमिटेड स्थापनाको १० औँ वर्षमा प्रवेश गरेको छ ।
कम्पनीको आफ्नो विभिन्न निर्जीवन बिमा व्यवसायबाट प्राप्त खुद बिमा शुल्क, पुनर्बिमा कमिसन र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल कम्पनीका आर्थिक स्रोतका आधारहरू भएको बताउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले आर्थिक वर्ष २०७९/८० मा कुल २३७.२३ करोड बिमा शुल्क आर्जन भएको जानकारी दिनुभयो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष कोइरालाले कम्पनीले राष्ट्रिय गौरवका परियोजनाहरूको पनि बिमा गरेको बताउनुभयो । हालसालै नेपाली सेनाबाट सञ्चालनमा रहेको राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश फास्ट ट्र्याक द्रुत मार्ग आयोजना, अप्पर तामाकोशी, अरुण तेस्रो, नेपाल एयरलाइन्स, भेरी–बबई आयोजना, नेपाल राष्ट बैङ्कको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीको दुर्घटना बिमा, राष्टिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकको पनि दुर्घटना बिमा गरेको उहाँले बताउनुभयो । यस्तै निर्वाचनका बेलामा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीको पनि दुर्घटना बिमा गरेको पनि उहाँले बताउनुभयो ।
हालसम्म नेपाल सरकार, नेपाल बिमा प्राधिकरण तथा नेपाल राष्ट्र बैङ्कद्वारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैङ्क, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको उहाँले बताउनुभयो । दीर्घकालीन लगानीका रूपमा मुख्यतः कम्पनीको विभिन्न बैङ्क तथा वित्तीय कम्पनीमा सेयर लगानी रहेको छ । कम्पनीको नबिल बैङ्क लिमिटेडमा दुई करोड छ लाख ३६ हजार ९८६ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैङ्कमा दुई करोड २९ लाख ६७ हजार ७९६ कित्ता, नेपाल पुनर्बिमा कम्पनीमा ३३ लाख ८७ हजार ८५० कित्ता, ग्लोबल आइएमई बैङ्कमा पाँच ५५ हजार ५३१ कित्ता सेयर रहेको छ । यस्तै नेपाल आयल निगम, नेपाल बैङ्क लिमिटेड, प्रभु बैङ्क लिमिटेड, हिमालयन बैङ्क लिमिटेड, नेपाल ल्युब आयललगायतका संस्थामा समेत लगानी रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीको २०८० असार मसान्तसम्ममा वाणिज्य बैङ्क, विकास बैङ्कलगायतको मुद्दती निक्षेपमा ६२५ करोडको लगानी रहेको पनि कम्पनीले जनाएको छ ।
देशमा बिमा व्यवसाय स्थापना गरी पुँजी निर्माण गर्न नेपाल सरकारको लगानीमा विसं २०२४ पुस १ गते राष्ट्रिय बिमा संस्थान (प्रालि) का रूपमा स्थापना भई सोही साल फागुन ११ देखि निर्जीवन बिमा व्यवसायको कारोबार सुरु भएको थियो । २०२५ सालमा राष्ट्रिय बिमा संस्थान ऐन लागु भएपछि राष्ट्रिय बिमा संस्थानमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको थियो ।
बिमा व्यवसायलाई व्यवस्थित तथा नियमित गर्न बनेको बिमा ऐन, २०४९ को दफा १२ मा ‘जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएका बिमकले समितिले तोकेको मितिदेखि तोकिएबमोजिम जीवन बिमा तथा निर्जीवन बिमा व्यवसाय गर्ने अलग अलग संस्थाका रूपमा कार्य गर्नुपर्ने छ’ भन्ने व्यवस्थाबमोजिम कम्पनी ऐन २०६३ अन्तर्गत रही विसं २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई असार २७ गते बिमा समितिबाट निर्जीवन बिमकको इजाजतपत्र प्राप्त गरी २०७१ साल साउन १८ देखि निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।