• २९ वैशाख २०८२, सोमबार

आन्तरिक राजस्व कार्यालयद्वारा लेखा व्यवस्थापन तालिम

blog

तालिममा सहभागीहरुलाई सहजीकरण गरिँदै । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, साउन १६ गते । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लेखा व्यवस्थापन र वर्तमान कर प्रणाली विषयको एकदिने तालिम प्रदान गरेको छ ।

सोमबार नेपालगञ्जमा सम्पन्न भएको सो तालिम आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र गैरसरकारी संस्था महासङ्घ नेपाल, बाँके शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको गैरसरकारी संस्था महासङ्घ बाँकेका तालिम संयोजक मन भण्डारीले जानकारी दिनुभयो । तालिममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख कर अधिकृत सुदिशकुमार अर्यालले करको विषयमा विभिन्न खालका जटिलताहरु रहेको बताउँदै तालिमबाट करको विषयमा रहेका जटिलता र समस्याको हल गर्न मद्दत पुग्ने बताउनुभयो ।

गैरसरकारी संस्थाहरुमा कार्यरत लेखा प्रमुखहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर अधिकृत लक्ष्मीप्रसाद उपाध्याय, चार्टड एकाउन्टेन्ट तेजप्रकास दीक्षित, गैसस महासङ्घ नेपाल बाँके शाखा सदस्य मन भण्डारीले वर्तमान कर प्रणाली, करको दायरा, व्यवस्थित तरिकाले लेखा कसरी राख्ने, आयकरको गणना कसरी गर्ने, टिडिएस दाखिला कुनकुन समयमा गर्ने, पारिश्रमिक कर कसरी गणना गर्ने, इटिडिएस कसरी गर्ने, राजस्वका शीर्षकहरु, समयमा कर दाखिला नगरेमा के हुन्छ, आयकर ऐनमा गैरसरकारी संस्थासँग सम्बन्धित व्यवस्था, लेखा परीक्षण, व्यवस्थित लेखा प्रणाली, सामाजिक परीक्षणलगायतका विषयमा प्रशिक्षण दिइएको गैसस महासङ्घ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

गैसस महासङ्घ बाँकेका सचिव आशिष वर्माले गैसस प्रतिनिधि र गैससमा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि महासङ्घले विभिन्न कार्यक्रम र तालिम सञ्चालन गर्ने वार्षिक योजना अनुसार तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले तालिमबाट लेखा व्यवस्थापन र कर प्रणालीको विषयमा प्राप्त गरेको ज्ञानलाई कार्यक्षेत्रमा लागु गर्नुपर्ने बताउनुभयो । उक्त तालिममा बाँके जिल्लामा कार्यरत विभिन्न ३० भन्दा बढी संस्थाका लेखा प्रमुख र लेखा सहायकको सहभागिता रहेको गैसस महासङ्घ बाँकेका कोषाध्यक्ष सूर्यलाल यादवले बताउनुभयो ।