• १३ साउन २०८१, आइतबार

साउन १५ मा दुधको खपत बढ्यो

blog

काठमाडौँ, साउन १६ गते । बजारमा सोमबार दुधको खपत एकै दिनमा तेब्बरले बढेको छ । साउन १५ खिर खाने पर्व परेकाले अधिकांशले खरिद खाने हुँदा बजारमा दुधको माग उच्च भई खपत तेब्बरले बढेको हो । 

उपत्यकामा किसानबाट दुध सङ्कलन गरी दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीले दुध वितरण गर्दै आएका छन् । डिडिसी र निजी डेरीले अन्य दिनको तुलनामा दुध तेब्बरले बढी बिक्री भएको बताएका छन् । 

निजी डेरी उद्योगले उपत्यकामा दैनिक ३१ लाख लिटर दुध वितरण गर्ने गरेकामा त्यसमा ५० प्रतिशित दुध र अन्य दही, मिठाई र मखन बन्ने गर्छ । दैनिक साढे १५ लाख लिटर दुध बजारमा वितरण हुने गरेकामा सोमबार तेब्बरले बिक्री भएको नेपाल डेरी एसोसिएसनले जनाएको छ । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दुधको माग तेब्बरले वृद्धि हुँदा सोमबार मात्र उपत्यकामा ४५ लाख लिटर दुध वितरण भएको जानकारी दिनुभयो । 

“बजारमा दैनिक ३१ लाख लिटर दुध वितरण हुने गरेकामा साढे १५ लाख लिटर दुध र बाँकी दही, मिठाई मखन बनाएर वितरण हुने गरेको छ,” उहाँले भन्नुभयो, “सोमबार खिर खाने दिन परेकाले माग उच्च भई खपत तेब्बरले बढेको छ ।” खिर खाने पर्वमा कलेज, विभिन्न कार्यालय र रेस्टुरेन्टमा सोमबार भएका कार्यक्रममा खिर खुवाएकाले पनि दुधको खपत वृद्धि भएको उहाँले जानकारी दिनुभयो । विभिन्न सङ्घ संस्थाले खिर खानेसमेत कार्यक्रम गरेका थिए । 

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियमलगायत खनिज पदार्थ दुधबाट पाइने हुँदा खिर खाने प्रचलन बढ्दै गएको पोषणविद्को भनाइ छ ।

दुुग्ध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक सञ्जीव झाले सोमबार खिर खाने दिन परेकाले उपत्यकामा एकै दिनमा एक लाख ४३ हजार लिटर खपत भएको जानकारी दिनुभयो । 

उपत्यकामा अन्य दिनमा दैनिक ६५ देखि ७० लिटर दुधको खपत हुने गरेकामा सोमबार खपत बढेको उहाँको भनाइ छ । साउन १५ खरिद खाने पर्व परेकाले बजारमा दुधको माग उच्च भई खपत वृद्धि भएको उहाँको भनाइ छ । डिडिसीले दैनिक मुलुकभर एक लाख ३५ हजार लिटर दुध सङ्कलन गरिररहेको जनाएको छ । 

गत असार महिनादेखि बजारमा दुधको खपत घटेकाले बिक्री नभएको दुधलाई धुलो पाउडर र मखन बनाएर राखिएको डिडिसीले जनाएको छ । बिक्री नभएको दुधबाट पोखराको सुजल डेरी उद्योग र चितवन मिल्क उद्योगले पाउडर र मक्खन उत्पादन गरिहरेको डिडिसीले जनाएको छ । 

गत असार महिनादेखि नै बजारमा माग कम हुँदा दुधको खपत घट्दै गएको डिडिसीले जनाएको छ । उपत्यकामा पाँच प्रतिशत दुुधको खपत घटेको र उपत्यकाबाहिरका मुख्य सहर विराटनगर, हेटौँडा, बुटवल, नारायगढलगायतका अन्य सहरमा दुधको खपत नौ प्रतिशतले घटेको महाप्रबन्धक झाले जानकारी दिनुभयो । 

उपभोक्ताको क्रयशक्ति घटेकाले पनि बजारमा माग कम भई दुधको खपतमा कमी आएको उहाँको भनाइ छ । आर्थिक सङ्कटका कारण उपभोक्ताको आम्दानी घट्नुका साथै पछिल्लो समय पशुमा देखिएको ‘लम्पी स्किन’ रोगका कारण पनि दुधको खपतमा कमी आएको उद्योगीको भनाइ छ । रोग देखिएका पशुको दुध राम्ररी पकाएर सेवन गर्दा स्वास्थ्यमा असर नपर्ने भए पनि दुधको माग कम हुँदा खपतमा गिरावट आएको उद्योगीको भनाइ छ । 

सरकारी तथ्याङ्क अनुसार देश दुधमा आत्मनिर्भर उन्मुख भएको देखिन्छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटर दुध आवश्यक पर्नेमा अहिले ७८ लिटर दुध प्राप्त हुने देखिएको १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । सरकारी तथ्याङ्कले दुधको अभाव देखाए पनि पछिल्लो समय भने दुधको खपत घटेकाले अभाव देखिएको छैन । 

दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब ३० अर्ब रुपियाँको लगानी भएको तथ्याङ्क छ ।