कपिल ज्ञवाली
सिद्धार्थनगर, साउन १५ गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका –१२ मा प्रदेश जनस्वाथ्य प्रयोगशाला उद्घाटन गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपियाँ लागतमा निर्माण भएको भवन एक कार्यक्रमबीच आज प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुभारम्भ गर्नुभयो ।
ग्लोबल फण्डको अनुदान र सेभ द चिल्ड्रेनको सहयोगमा निर्मित सो प्रयोगशाला सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर हेयथर कम्पबेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई हस्तान्तरण गर्नुभयो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पहलमा भवन निर्माण भएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रयोगशालालाई अनुसन्धानात्मक रिसर्च सेन्टरको रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेशकै नमुनाका रुपमा प्रयोगशालालाई सञ्चालन गर्न निर्देशन दिनुभयो ।
‘आमनागरिकको स्वस्थ्य सेवामा पहुँच बनाउनुपर्छ, प्रयोगशालाले सही प्रतिवेदन दिर्नुपर्छ, प्रयोगशालाको गुणस्तरलाई ध्यान दिनुहोला’ उहाँले भन्नुभयो, ‘अनुसन्धानात्मक रिसर्च सेन्टरको रुपमा विकास गरेर दक्ष जनशक्ति तयार गर्ने गरी तालिम चलाउने, यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ ।’
प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो । प्रदेश संरचना निर्माणपछि पहिलो पटक भवन निर्माण सम्पन्न भएको चर्चा गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई आर्थिक चलायमान बनाउनुपर्ने समय आएको बताउनुभयो । बुटवल १२ स्थित तामनगरमा निर्माण सम्पन्न भएको यो प्रयोगशालाको प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बरालले २०७८ सालमा शिलान्यास गर्नुभएको थियो ।
प्रयोगशालामा रगत गणना, कलेजो परीक्षण, मृगौला परीक्षण, लिपिड प्रोफाईल परीक्षण जस्ता नियमित परीक्षण, गरिने छ । त्यस्तैगरि भने प्रादेशिक रक्तसंचार सेवा केन्द्र स्थापना तथा संचालन, ब्लड कल्चर र औषधी संवेदनशीलता परीक्षण लगायतका माइक्रोबायोलोजिकल र इम्युनोलोजिकल परीक्षणहरु, एचआईभी भाईरल लोड टेस्टिङ जस्ता मोलिक्युलर परीक्षण, पानीको गुणस्तर परीक्षण, रोग विज्ञान, बायोकेमिकल र हेमाटोलोनिकल परीक्षण, नमुना रिफेरल तथा नमुना ढुवानी प्रणालीलाई सुदृढिकरण गर्दै प्रयोगशाला तथा रोग निदान नेटवर्कको विकास गर्ने जनाइएको छ ।