रमेश पौडेल
पोखरा, साउन १५ गते । नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणका कार्यालय तथा अन्य हाताभित्र विभिन्न जातका बोटबिरुवा रोपिएको छ ।
सोमबार सेती पावर हाउसबाट सुरु गरिएको सो कार्यक्रम गण्डकी प्रदेशका १३ वटै वितरण तथा उत्पादन केन्द्रमा वृक्षारोपण गरिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीले जानकारी दिनुभयो ।
रोपिएका बिरुवामा कल्की, निम, धुपी, अमला, बर्रोलगायतका औषधिजन्य बोटबिरुवा छन् भने अन्य फलफूलका बोटबिरुवा समेत रोपिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रशासन अधिकृत भोलानाथ शर्माले बताउनुभयो ।
वृक्षारोपणको शुभारम्भ प्रादेशिक प्रमुख जोशी, पोखरा प्रमुख राजीव सिंह र तनहुँ प्रमुख मेखलाल जोशीले गर्नुभयो । सो अवसरमा जोशीले विश्वमा जलवायु परिवर्तनका कारण ठुलो चुनौती आइरहेका बेला वातावरणीय सन्तुलनका लागि जनचेतना अभिवृद्धि गर्न केन्द्रदेखि नै सो अभियान थालिएको बताउनुभयो ।
विद्युत प्राधिकरणले लाइन विस्तारका क्रममा रुख काट्दै आउँदा आलोचना हुनेगरेको छ । यसबारेमा पोखरा केन्द्रका प्रमुख राजीव सिंहले लाइन बिस्तारको क्रममा बोटबिरुवा काट्नुपर्ने बाध्यता रहेको अवस्थामा प्राधिकरणले रुख काट्न मात्र होइन रुख रोप्न पनि जान्दछ भन्ने सन्देश वृक्षारोपणले दिएको बताउनुभयो ।
वृक्षारोपण कार्यक्रममा प्राधिकरणका गण्डकी प्रदेश, पोखरा वितरण केन्द्र, सेती जलविद्युत आयोजना र कुडहरलगायतका कार्यालय प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।