• ९ मंसिर २०८१, आइतबार

गुरुकुलमा विद्यार्थीको चाप

blog

अर्जुन काफ्ले

स्याङ्जा, साउन १३ गते । गुरुकुलीय शिक्षा प्रणाली हराउँदै गएको बेला यहाँको रामनदीधाम संस्कृत गुरुकुलमा भने विद्यार्थीको चाप बढेको छ । मागभन्दा धेरै भर्ना हुन आउँदा गल्याङ नगरपालिका–१, रामनदीधामको विद्यार्थीको चाप बढेको हो । 

गुरुकुलमा संस्कृत, वेद, व्याकरण, कर्मकाण्ड मात्र नभएर आधुनिक विषय विज्ञान, अग्रेदी, गणित, कम्प्युटरको पठनपाठन हुने गरेको छ । गुरुकुलका आचार्य कृष्णप्रसाद बस्यालले माध्यमिक तह ६–१० कक्षासम्म आवासीय रूपमा पढाइ हुने गुरुकुलमा संस्कार संस्कृतिसहित आधुनिक विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरिएकाले विद्यार्थीको आकर्षण बढेको बताउनुभयो । 

२०४२ सालमा स्वर्गीय योगी नरहरिनाथले एक महिना १०८ बाह्मणद्वारा गायत्री कोटी हवन गरेर करिब ६ महिना परम्परागत रूपमा गुरुकुल सञ्चालन गरिएको थियो । गुरुकुलीय पद्धतिमा सरकारको पूर्ण दायित्व नहुने भएकाले समुदायको सहयोगमा सञ्चालन हुँदै आएको छ । 

गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष विष्णु देवानन्द सरस्वतीले  गुरुकुलमा हाल ८८ बटुक अध्ययनरत रहेको र चार सरकारी दरबन्दीका र चार निजी स्रोतका शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको बताउनुभयो ।

गुरुकुलमा गुरुकुल पाठशाला, कार्यालय, आवास गृह, शौचालय रहेको छन् भने गुरुकुललाई गल्याङ नगरपालिकाले र विभिन्न दाताको संयोगमा सञ्चालन हुँदै आएको छ ।