• ८ मंसिर २०८१, शनिबार

स्वर्ग जस्तै सिङ्गापुर

blog

प्रदिप्नराज पन्त 


एक सुन्दर र सफा सहर सिङ्गापुर, यहाँका आकाश छुने घरले सहरको प्रतिष्ठा र वैभव स्पष्ट देखाउँछ । सहर घुम्ने जो कोहीलाई भन्न कर लाग्छ, महान् छ सिङ्गापुर । क्षेत्रफलको हिसाबमा संसारकै सानो देशमध्येको पनि सानो देश तर सर्सती हेर्दा मात्रै पनि विशाल देशभन्दा पनि विशाल लाग्छ । यहाँको शान्त वातावरणले पर्यटकको मन जित्छ र धित मर्दैन एकचोटि मात्र घुम्दा सिङ्गापुर । 

उपनाम

सिङ्गापुर सानो छ तैपनि यसका कैयौँ उपनाम छन् । ती उपनाम ‘दि लायन सिटी’, ‘लिटल रेड डट’, ‘दि फाइन कन्ट्री’ हुन् तर सिङ्गापुरको सबैभन्दा प्रचलित र लोकप्रिय उपनाम चाहिँ ‘डिज्निल्यान्ड विथ द डेथ पेनाल्टी’ हो । सन् १९९३ मा नियात्रा लेखक विलियम गिब्सनले सबभन्दा पहिला यो देशलाई ‘डिज्निल्यान्ड विथ द डेथ पेनाल्टी’ भनेर उपनाम दिएका थिए । 

उनको लेखमा सिङ्गापुरको वास्तुकला, विज्ञान र संस्कृतिको वर्णन छ । यसका साथै राज्यको सख्त कानुन र दण्डका साथ सम्पूर्ण कृत्रिमता देखेर सिङ्गापुरका बारेमा आश्चर्य व्यक्त गरेका थिए । हुन पनि सार्वजनिक आकर्षण र मनोरञ्जनको बिच एउटा अन्तर सिङ्गापुरले दर्शाएको छ । पूर्ण प्रामाणिकताको अभाव त छ तर गिब्सनले सिङ्गापुरको न्याय प्रणाली कठोरभन्दा पनि कठोर भएको र त्यहाँका उपभोक्ता ज्यादै उदासीन भएको भनेर गिब्सनले लेखेका छन् । 

शौचालयमा कमोड फ्लस नगरी छोडेमा, जता मन लाग्यो उतै गैरजिम्मेवार रूपमा पैदल हिँडेमा, चुइङ्गम खाएर बाटोमा थुकेमा वर्णन गर्न गाह्रो र ठुलो परिमाणको जरिबाना मात्र होइन, कठोर कारावासको सजायसमेत दिइन्छ सिङ्गापुरमा । यसैले अहिले गिब्सनले मात्र होइन, सिङ्गापुरको उपनाम नै ‘डिज्निल्यान्ड विथ द डेथ पेनाल्टी’ सही भएको भनेर धेरै लेखकले लेखेका छन् तर सिङ्गापुरलाई ‘डिज्निल्यान्ड’ पनि भनिन्छ किनभने यहाँ एक सयभन्दा बढी सपिङ मल छन् भने आठ वटा प्राकृतिक पार्क, दुई एकीकृत रिसोर्ट र संसारको सबैभन्दा ठुलो ओसियानेरियम जहाँ एक हजारभन्दा बढी प्रजातिका सामुद्रिक जीव राखिनुका साथै मनोरञ्जनका लागि मात्र विधाताले सिर्जना गरे जस्तो लाग्ने संसारको एउटा अलग्गै द्वीप जस्तो लाग्छ सिङ्गापुर । 

यसका साथै सात सय वर्गकिमीको क्षेत्रमा संसारमा भएका प्रायः सबै कृत्रिम सुखसुविधा भएकाले मानिसले यसलाई अर्को उपनाम ‘लिटिल रेड डट’, ‘दि फाइन कन्ट्री’ भन्ने गरेका हुन् । साँच्चै ‘लिटल रेड डट’ र ‘डिज्निल्यान्ड’ जस्ता उपनाम चाहिँ सिङ्गापुरलाई ज्यादै सुहाएको जस्तो लाग्छ । यो उपनाम चाहिँ अतिरञ्जित भए जस्तो लाग्दैन किनभने सिङ्गापुरले दुनियाँको सबैभन्दा लोकप्रिय पर्यटन केन्द्रमध्यको एक हो भनेर संसारसमक्ष आफूलाई स्थापित गराइसकेको छ । 

अवर्णनीय

वातावरणीय दृष्टिकोणले पत्याउन नसकिने र धेरै ठुला देशलाई पाठ सिकाउन सक्ने हैसियत राख्दो रहेछ सिङ्गापुरले । ५२ हेक्टरमा फैलिएको १६० वर्ष पुरानो ‘बोटानिकल गार्डेन’ प्रकृतिको वरदान त हुँदै हो तर योभन्दा सिङ्गापुरका नागरिकको लगन र मेहनतले यसलाई शब्दमा वर्णन गर्न नसकिने किसिमको सुन्दर बनाएको छ । ‘सानो छ स्वर्ग छ’ भने झैँ देश ठुलो हुनु पर्दो रहेनछ सुन्दर हुनलाई । प्राकृतिक सौन्दर्यले भरिएको हाम्रो देश भनेर गर्व गरेर मात्र पनि देश सुन्दर हुँदैन । देश सुन्दर बनाउन देशवासीको पनि गहिरो अभिरुचिका साथ मेहनत पनि आवश्यक हुन्छ । 

सुन्दा आश्चर्य लाग्ला, मात्र ५२ हेक्टरमा फैलिएको ‘बोटानिकल गार्डेन’ मा करिब एक हजार प्रजातिका साठी हजार अर्किड वनस्पति छन् भने करिब दुई हजार हाइब्रिड प्रकारको थप अर्किडसमेत यहाँ पाइन्छ, जसलाई संसारले तारिफ गर्ने गरेको छ । मानसिक स्वास्थ्यको हिसाबले समेत यो गार्डेनलाई अद्भुत मानिन्छ । आधुनिक जीवनको तनावबाट टाढा रहन र एउटा अति शान्त गन्तव्यका रूपमा विकास गर्न खोजिएको यो गार्डेन साँच्चै छ ज्यादै शान्त पनि । यदि यो गार्डेन जान सकिएन भने चाङ्गी विमानस्थल गए पनि हुन्छ । ‘अर्किड गार्डेन’ को विकास विमानस्थलका होटलमा पनि गरिएको छ ।

अद्भुत छ चाङ्गी विमानस्थल । यहाँ प्रवेश गर्नासाथ जताततै अर्किडको सुगन्धले मनमोहक बनाउँछ । यहाँ सजाइएको कार्पेटलगायतका सामग्री र यो विमानस्थलमा जस्तो सुविधा अन्यन्त्र विरलै पाइन्छ । पङ्क्तिकार विश्वका धेरै ठुलो विमानस्थलमा पुगेको छ तर चाङ्गीको सौन्दर्य झनै मनमोहक छ । विमानस्थलभित्रै पाँचतारे होटल, माथि स्विमिङ पुल, अर्किड गार्डेन र चुरोटको अम्मलीका लागि होटलभित्रै व्यवस्थालगायत मानिसले चाहने प्रायः सबै सुविधा यहाँ पाइँदो रहेछ भन्दा फरक नपर्ने जस्तो लाग्यो मलाई । 

नेपालीको योगदान 

यो देश सन् १९५९ भन्दाअघि बेलायतको उपनिवेश थियो र सीमित स्वायत्तता दिइएको थियो । सन् १९६३ मा यो देश पूर्ण रूपले स्वतन्त्र भयो । स्वतन्त्र भएपछि यसले आफूलाई मलेसियासँग विलय गरायो किनभने सिङ्गापुरका प्रायः सबै नागरिक मलेसिया विलय हुनु पर्छ भन्न मान्यता राख्दथे र विलय पनि भयो तर बहुचर्चित लि क्वान यु ले जब मलेसियाका नागरिकका हैसियतले मलेसियामा चुनाव उठ्ने प्रयास गरे, त्यसपछि मलेसियाका तत्कालीन शासकले उनलाई चुनावमा प्रतिबन्ध लगाउन चाहे । वास्तवमा लि क्वान मलेसियामा पनि ज्यादै लोकप्रिय बनिसकेका थिए । यसैले उनलाई विदेशी भनेर मलेसियाको चुनावमा उठ्न दिइएन । लि क्वानका लागि यो कुरो सह्य भएन । उनले विद्रोह गरे । थुप्रै आरोह–अवरोहपछि सिङ्गापुर मलेसियाबाट अलग्गिएर छुट्टै स्वतन्त्र राष्ट्र बन्यो । कुनै बेला बेलायतको उपनिवेश बनेको सिङ्गापुर अत्यन्त विषम परिस्थितिबाट गुज्रिएको थियो । 

त्यतिखेर सिङ्गापुरका अधिकांश मानिस अफिम खाएर लठ्ठिन्थे । त्यहाँ मलेसियाका मले र चाइनिज समुदायका मानिस थिए । चिनियाँ प्रहरीद्वारा मलयमाथि र मलय प्रहरीद्वारा चिनियाँमाथि गोली चलाएका घटना सिङ्गापुरमा सामान्य जस्तै हुन्थ्यो र अहिले पनि आक्कलझुक्कल हुने गर्दो रहेछ । त्यहाँ सुरक्षा त के, सामान्य जीवनयापन गर्न पनि धौधौ थियो तर एक कुशल शासक लि क्वान त्यहाँ जन्मिए र सिङ्गापुरको कायापलट गरिदिए । 

स्वतन्त्र भइसकेपछि पनि उनले बेलायती शासकसँग सहयोगको याचना गरे र सुरक्षाका लागि नेपालीलाई सुरक्षा निकायमा स्थायी रूपमा भर्ना गर्न र स्थायी रूपमा नै तैनाथ गर्न अनुरोध गरे । त्यसपछि सिङ्गापुरमा सुरक्षाका लागि नेपाली तैनाथ गरिए । तत्कालीन सिङ्गापुरमा विभिन्न स्थानीय समुदायका सुरक्षाकर्मी आफ्नो समुदायबाहेक अर्काे पक्षलाई घृणा गर्थे र भयानक काटमार हुने गथ्र्यो तर नेपाली तटस्थ थिए, जसले गर्दा सिङ्गापुरको सुरक्षा व्यवस्थामा अभूतपूर्व सुधार भयो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम उल उनबिच भएको बैठकमा सुरक्षा प्रदान गर्ने सुुरक्षाकर्मी नेपाली थिए । हुन त दुवै नेताले सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएको आफ्नै देशका सुरक्षा अधिकारी ल्याएका थिए । सिङ्गापुरको विशिष्ट स्थल, होटल र सडकको सुरक्षा स्थलमा भने गोरखालीहरू तैनाथ थिए । 

यति मात्र होइन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई राखिएको साङ्ग्रिला होटलमा पनि गोरखालीले नै सुरक्षा दिएका थिए । विशिष्ट अतिथि सिङ्गापुरमा आउँदा सुरक्षा दिने जिम्मेवारी गोरखालीकै रहेछ । अक्सली रोड; जहाँ प्रधानमन्त्री लिको निवासस्थान छ, त्यहाँ मैले केही नेपाली सुरक्षा सैनिकलाई भेटेको थिएँ । उनीहरूसँग खासै वार्तालाप हुन सकेन तर प्रधानमन्त्री र राष्ट्रपतिको सुरक्षामा उनीहरू वर्षौंदेखि खटिएको कुरा मैले उनीहरूबाट सुन्न पाएको थिएँ । 

बडो रोमाञ्चक कथा छ गोरखालीको सिङ्गापुरमा उपस्थिति । भारत स्वतन्त्र भएको दुई वर्षपछि सन् १९४९ मा तत्कालीन बेलायती सरकारले नै नेपालीलाई सिङ्गापुर लैजान थालेको हो । सन् १९४९ मा क्याप्टेन दर्शन लिम्बूको नेतृत्वमा १४२ जना नेपालीलाई सेनामा भर्ना गरेर सुरक्षा निकाय स्थापना गरिएको थियो । नेपालीको सङ्ख्या सिङ्गापुरको सुरक्षा निकायमा सन् २००३ मा दुई हजारसम्म पुगेको थियो र अहिले भने यो सङ्ख्यामा कमी आएको छ । 

यसको खासै कारण थाहा हुन सकेन तर सिङ्गापुरमा काम गर्न संसारभरका मानिस आउने गर्छन् । यहाँको जनसङ्ख्या पनि अहिले ५९ लाख माथि रहेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता भएको यो देशमा हरेक क्षेत्रमा काम गर्ने मानिसको तलब आकर्षक मात्र होइन, संसारकै सबैभन्दा बढी पारिश्रमिक पाउने देशमा गनिन्छ ।  सुन्दा आश्चर्य लाग्ला, यहाँको प्रधानमन्त्रीको वार्षिक तलब २२ लाख अमेरिकी डलर रहेछ, जब कि अमेरिकी राष्ट्रपति जो वाइडेनको चार लाख मात्र हुन्छ । भ्रष्टाचार नियन्त्रणका लागि नेताहरूको तलब आकर्षक हुनु पर्छ भन्ने मान्यता अनुसार यो नियम लागु गरिएको रहेछ । कर्मचारीको तलब पनि सिङ्गापुरमा आकर्षक नै छ । 

पाठ 

सिङ्गापुर सफा र सुन्दर मात्रै छैन, यसले संसारलाई धेरै पाठ सिकाउने हैसियत राख्छ । सिङ्गापुर साँच्चै सपनाको देश हो । थोरै समयमा विकासको लामो फड्को मारेको सिङ्गापुरबाट नेपालीले पनि धेरै कुरा सिक्नुपर्ने देखिन्छ । सन् १९६५ को स्वतन्त्रतापछि नै यो देश विकासको मामलामा कहिल्यै पछाडि रहेन । हरेक तरिकाले यसले आफूलाई सिँगारेको छ । जो यहाँ आउँछन्, यसको प्रशंसा गरेर कहिल्यै थाक्दैनन् ।

यसको आफ्नै संस्कृति छैन भन्ने गरिन्छ । चिनियाँ, मलयलगायत अन्य एसियाली मुलुकका मानिस आएर सिङ्गापुर बनेको हो तर संस्कृतिमा गर्व गरेर मात्र विकास हुँदैन र मानिसको जीवनस्तर पनि सुध्रँदैन । अहिले सिङ्गापुरमा अनेक संस्कृति, अनेक धर्म, सम्प्रदायका मानिस मिलेर बस्ने गरेका छन् । अनेकतामा पनि विशिष्ट किसिमको एकता हुन सक्छ भनेर यहाँका मानिसले संसारलाई देखाइदिएका छन् । 

यहाँका पार्क विज्ञान कथामा जस्तै रोमाञ्च खोज्ने प्रशंसकका लागि ‘हटस्पट’ याने कि अत्यन्त मनोरञ्जन स्थल हुन् । यहाँको रात्रि जीवन झनै लोभलाग्दो छ । हजारौँको सङ्ख्यामा सिँगारिएको लेजर लाइटले सिङ्गापुर अँध्यारो रातमा पनि स्वर्गकी परी जस्तो देखिन्छ । मरिन वेमा डङ्गाको रोमाञ्चकारी सफर, पानीमा लेजर प्रकाश, वनस्पति नै धपक्कै बलेको जस्तो देखिने प्रकाशको अद्भुत लाग्ने मिश्रण, आराम गर्नका लागि बनाइएको बेन्चमा पनि अनेक प्रकारको प्रकाश झिलमिल र मनै लोभ्याउने गरी बेन्चमा गरिएको प्रकाश संयोजनले सिङ्गापुरलाई ज्यादै मनमोहक बनाएको छ । शृङ्गारले धपक्कै बलेकी दुलही जस्तो साँच्चै ज्यादै सुन्दर छ सिङ्गापुर ।  

Author

प्रदिप्नराज पन्त