• ३० वैशाख २०८२, मङ्गलबार

राप्ती नदीको टापुमा फसेका पाँच जनाको उद्धार

blog

बाँकेको सिधनीया घाटस्थित राप्ती नदी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, साउन १० गते ।
बाँकेस्थित राप्ती नदीको बीचमा रहेको टापुमा फसेका पाँच जना स्थानीयको उद्धार गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका– ४, लालपुरस्थित नदीको बीच टापुमा फसेका पाँच जना स्थानीयको सकुशल उद्धार गरिएको हो ।

इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलील उनीहरुको सकुशल उद्धार गरेको हो । स्थानीय लालपुर गाउँको उत्तरतर्फ नदीको बीच टापुमा रहेको गौशालामा गाई रेखदेख गर्न गएका एक महिलासहित पाँच जना स्थानीय टापुमा फसेका थिए ।

उनीहरु गौशालामा पुगेपछि राप्ती नदीको बहाव दुबैतिरबाट बढेपछि उनीहरु उक्त टापुमा फसेको प्रहरी जनाएको छ । टापुमा फसेका राप्ती सोनारी ४ पसरामपुरका चुकीराम थारु, मायारमा थारु, बतासी थारु, लोकबहादुर थारु र सूर्यलालपुर गाउँका आशाराम थारुलाई ट्यूब र सेफ्टी ज्याकेटको सहायताले सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार नै एक सूचना जारी गर्दै बाँकेमा नदीको तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको थियो ।जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार मङ्गलबार बिहान ११ः४० बजे बाँकेमा राप्ती नदीको बहाव ५.४५ मिटरभन्दा माथि पुगेको थियो ।

प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउनुका साथै नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्न आग्रह गरेको थियो । जल तथा मौसम विभागले यसवर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको छ ।