• १३ साउन २०८१, आइतबार

गोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

blog

राष्ट्रिय परिचयपत्र वितरण गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिरः नरेन्द्र

नरेन्द्र ढकाल

गोरखा, साउन ९ गते। गोरखामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार चार जनालाई परिचयपत्र वितरण गर्नुभएको हो। गोरखा नगरपालिका वडा–३ का सुरज बस्नेत, गोरखा नगरपालिका वडा नम्बर १ की आकृति भट्ट, निर्मला ढुङ्गाना र बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर–३ का  जानुका आले मगर गृहमन्त्री श्रेष्ठको हातबाट परिचयपत्र पाउनुभएको हो। 

जिल्लामा हालसम्म विवरण उपलब्ध गराएका दुई हजार चार सय ५३ जनाको परिचयपत्र प्राप्त भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ। उनीहरूलाई क्रमशः परिचयपत्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो। गोरखामा २०७७ साल असार ३१ गते चार जनाको बायोम्याट्रिक विवरण सङ्कलन गर्न परिचयपत्र निर्माण कार्य सुरु भएको थियो। जिल्ला प्रशासन कार्यालय दैनिक र वडा वडामा पुगेर विवरण सङ्कलन गरिएको थियो। 

जस अनुरूप वडा स्तरमा गएर एक लाख १५ हजार ७ सय ८७ जनाको बायोमेट्रिक सङ्कलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयबाट भने ४२ हजार जनाको बायोमेट्रिक सङ्कलन गरेको उहाँले बताउनुभयो। गोरखामा हालसम्म एक लाख ५९ हजार ६ सय ८९ जनाको बायोमेट्रिक सङ्कलन गरिएको छ। 

गृहमन्त्री श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्नका निम्ति सुरक्षा निकायलाई निर्देशन समेत दिनुभएको थियो। प्रधानमन्त्रीले निर्वाचनका क्रममा प्रतिबद्धता गर्नु भएअनुसार जिल्लाको विकास र समृद्धिमा वर्तमान सरकारले जोड दिएकोसमेत उहाँले बताउनुभयो। ‘‘प्रशासन र सुरक्षा निकायले ठुलाठालुलाई मात्र केन्द्र बिन्दुमा राख्ने होइन,’’ उहाँले भन्नुभयो, ‘‘जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्छ, गरिबीमुखी वा जनतामुखी भएर काम गर्नुपर्छ।’’

प्रधानमन्त्रीले निर्वाचन पूर्व प्रतिबद्धता गरे अनुसार गोरखाबाट विकासको मोडल सुरु गर्न सरकार लागि परेको उहाँको भनाइ छ।