नेपाली चलचित्र उद्योगमा ऋषिराज आचार्य एक उदीयमान निर्देशक मानिनुहुन्छ । २०५८ सालमा टेलिचलचित्रबाट प्रवेश गर्नुभएका आचार्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने सपना बोकेर यस क्षेत्रमा सङ्घर्षरत हुनुहुन्छ । उहाँले आधा दर्जनभन्दा बढी नेपाली चलचित्र निर्देशन गरिसक्नुभएको छ । तीमध्ये केहीले राम्रै सफलता पनि हासिल गरेका छन् । कलाकार बन्ने सपना देखेर यस क्षेत्रमा प्रवेश गर्नुभएका आचार्यलाई काम गर्दै जाँदा चलचित्रको पर्दाभन्दा पर्दा पछाडिबाट काम गर्ने निर्देशक हिरो जस्तो लाग्न थाल्यो । त्यही सोचले उहाँ सुरुमा कथा लेखनमा लाग्नुभयो । २०५८ देखि पाँच वर्षसम्म वरिष्ठ निर्देशक शम्भु प्रधानको सहायक भएर काम गर्नुभयो । त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका आचार्य त्यसपछि मुम्बई चलचित्र निर्देशनसम्बन्धी अध्ययनका लागि जानुभयो । त्यहाँ एक वर्षको अध्ययन सकेर स्वदेश पर्केपछि आफ्नै निर्देशनमा आफन्त, यात्रा जिन्दगीको जस्ता टेलिचलचित्र निर्देशन गर्नुभयो । निर्देशक आचार्यसँग गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जनले गर्नुभएको कुराकानी :
हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
नयाँ चलचित्र निर्देशन गर्नका लागि स्क्रिप्टमा काम गर्दै छु । गम्भीर विषयवस्तुभएकाले थप अध्ययन गर्दै छु । साथै चलचित्र सेन्सर बोर्डमा सदस्य नियुक्त भइसकेपछि त्यहाँको काममा पनि समय दिनुपर्छ । दुवैलाई मिलाएर काम गर्दै छु ।
अहिले नेपाली चलचित्रको निर्देशकीय पक्षलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
तुलनात्मक रूपमा पहिलाभन्दा अहिले अवस्था निकै उत्साहपूर्ण नै छ । आर्थिक दृष्टिकोणले पनि त्यति नराम्रो छैन । निर्देशकले एउटा चलचित्रबाट २५ देखि ३० लाख रुपियाँसम्म कमाई गर्न सक्नुलाई राम्रै मान्नुपर्छ । उद्योगको विस्तार हुँदै जाँदा सबै पक्षमा सुधार होला ।
तपाईंले चलचित्र निर्देशन गरिरहँदा पात्र वा कथामा केलाई प्रधान मान्नुहुन्छ ?
सुरुमा कथा नबन्दै पात्र बन्दैन । पात्र हेरेर कथा लेखियो भने त्यो चलचित्र व्यापारिक हिसाबले सफल भइहाले पनि दर्शकको मनमा बस्न सक्दैन । त्यसैले कथा निर्माण भएपछि मात्रै पात्रको जन्म हुन्छ । वा सुहाउँदो पात्रको खोजी गरिनुपर्छ ।
तपाईं आफूले निर्देशन गरेको चलचित्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पूर्ण सन्तुष्ट त कोही पनि हुन सक्दैन । म पनि छैन । जहाँ पनि सुधारको गुन्जायस रहन्छ नै । मेरो निर्देशमा पनि सुरुदेखि अहिलेसम्म व्रmमशः सुधार हुँदै आएको छ । हरेक चलचित्र निर्देशनपछि मैले केही न केही नयाँ सुधार गर्नुपर्ने कुरा सिकेकै हुन्छु । मलाई नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाएर विश्वसामु चिनाउने इच्छा छ । म सोही अनुरूप काम गरिरहेको छु ।
तपाईंले आफूले निर्देशन गरेको चलचित्र सम्झनु पर्दा कुन कुन सम्झन चाहनुहुन्छ ?
मैले निर्देशन गरेका चलचित्रहरू मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाई लग्यो झिल्केले, ड्रिमगर्ल, राइज, चुरिफुरी हुन् । तीमध्ये मिस्टेकबाहेक अरू चलचित्र सफल भएकै मान्नुपर्छ ।
अहिले विश्व चलचित्रको बजारमा नेपाली चलचित्रको स्थान कहाँ होला ?
विश्वको स्थान तालिकामा हामी निकै पछाडि छौँ । नम्बर एकमा फ्रान्स, पाँचौँमा भारत र १० औँ मा चिन परेको देखिन्छ । तुलनात्मक रूपमा नेपाली चलचित्रको इतिहास त्यति लामो पनि छैन । नेपाली चलचित्रले राम्रो स्थानमा आउन प्राविधिक रूपले र लगानीका दृष्टिले पनि निकै मेहनत गर्नुपर्छ ।
चलचित्र उद्योगमा प्रवेश गर्न चाहने नयाँ प्रतिभाहरूलाई के सल्लाह दिनुहुन्छ ?
कुनै पनि क्षेत्रमा आउनुअघि सोसम्बन्धी विषयको अध्ययन गर्नु अति आवश्यक हुन्छ । चलचित्र क्षेत्रमा आउनुअघि पनि चलचित्र लेखन, निर्माण, अभिनय निर्देशन, प्राविधिक पक्ष जस्ता विषयमा राम्रो अध्ययन गर्नुपर्छ । अनि मात्र बढ्दो प्रतिस्पर्धाबिच आफूलाई स्थापित गर्न सकिन्छ ।
तपाईंका आगामी योजना के छन् ?
नेपाली चलचित्रका स्तरवृद्धिका लागि एउटा गहन विषयवस्तुको अध्ययन गर्दै छु । किनकि चलचित्रको मेरुदन्ड भनेकै कथाको विषयवस्तु हो । म नेपाली चलचित्र विश्वसामु चिनाउन विशुद्ध नेपालीपन भएका, मौलिक कथामा आधारित, नेपाली संस्कृति, यहाँको प्राकृतिक सुन्दरता झल्कने चलचित्र निर्माण गर्ने योजनामा छु । त्यस्ता चलचित्रलाई अन्तर्राष्ट्रिय महोत्सव र अवार्ड कार्यव्रmममा प्रतिस्पर्धा गराउन सकेमा नेपाल र नेपालीबारे विश्वमा सकारात्मक प्रचारप्रसार हुने मेरो विश्वास छ ।