• ५ असार २०८२, बिहिबार

स्वच्छ वातावरण अभियान, भान्सामा विद्युतीय चुलो

blog

पोखरा समाचारदाता

पोखरा, असार ७ गते । शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा रहेर कार्य गर्दै आएको रोटरी क्लब अफ पोखरा न्युरोडले वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै स्वदेशमै उत्पादित विद्युत् प्रयोग गरेर स्थानीय भान्सालाई सहजता प्रदान गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गरेको छ । 

क्लबले पोखरा महानगरपालिका–२२ स्थित उल्लेरीमा वितरण गरेको विद्युतीय चुलो र विभिन्न भाँडाका सामग्रीले स्थानीयमा खुसियाली छाएको क्लबका अध्यक्ष दीपेन्द्र शर्माले जानकारी दिनुभयो ।

महानगरपालिका–२२ का अध्यक्ष हिमलाल बरालले क्लबले नमुना आयोजनाका रूपमा सञ्चालन गरेको विद्युतीय चुलो वितरणले स्थानीयवासीमा सकारात्मक प्रभाव परेको बताउनुभयो  । उहाँले वडाका करिब एक हजार पाँच सय घरधुरी यसबाट लाभान्वित हुने हिसाबले योजना अगाडि बढाएको बताउनुभयो । उहाँका अनुसार झन्डै एक करोड रुपियाँ लाग्ने यो अभियानलाई रोटरी क्लब र वडा नं. २२ मिलेर अगाडि बढाउने योजना भएको छ; जसमा वडाको ४० प्रतिशत र क्लबको ६० प्रतिशत आर्थिक सहभागिता रहने छ । विद्युतीय चुलो वितरण कार्यक्रममा डिस्ट्रिक गभर्नर विनोद कोइरालाले रोटरी क्लबले समुदायमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने कार्यक्रम गर्दै आएको बताउनुभयो । 

यसले वातावरणीय संरक्षणमा थोरै भए पनि टेवा पुर्‍याउने उहाँले बताउनुभयो । त्यसै गरी कार्यक्रम संयोजक प्रेम शर्माले नेपालमा उत्पादित विद्युतीय चुलोले आयातित इन्धनलाई प्रतिस्थापन गरी राष्ट्रिय आयमा टेवा पुर्‍याउने बताउनुभयो ।

त्यस्तै रोटरी क्लबका पूर्वअध्यक्ष सुवास सिग्देलले क्लबले केही समयअगाडि महिलाको पाठेघरमा हुने क्यान्सरको ‘प्याप टेस्ट’ र सचेतना कार्यक्रम सञ्चालन गर्दै आएकोमा अहिले विद्युतीय चुलोको अभियानलाई अगाडि बढाएको बताउनुभयो ।