काठमाडौँ, साउन ७ गते । समस्याग्रस्त सहकारी ओरेन्टल कोअपरेटिभ लिमिटेडमा एक लाखभन्दा कम बचत गरेकाले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् ।
सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम बचत भएकालाई प्रमाणसहित साउन १५ गतेसम्म निवेदन पेस गर्न एक सूचना जारी गर्दै म्याद दिएको छ ।
समस्याग्रस्त घोषित ओरेन्टल कोअपरेटिभ लिमिटेडका साना बचतकर्ता ९९ हजार ९९९ रुपियाँसम्मको मागदाबीलाई सक्कल बचत प्रमाण कार्यालयमा पेस गर्न सूचनामा भनिएको छ । २०७९ असोज ७ मा नेपाल सरकारबाट समस्याग्रस्त घोषित ओरेन्टल कोअपरेटिभ लिमिटेडका बचतकर्तामध्ये ९९ हजार ९९९ रुपियाँसम्म मागदाबी भएका बचतकर्तालाई बचत फिर्ता गर्ने निर्णय भएको उक्त सूचनामा उल्लेख छ ।
बचतकर्ताले बचत प्रमाणको सक्कल, बचतकर्ताको मृत्यु भइसकेकामा हक प्रमाणित हुने कागजात (मृत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्र, स्थानीय तहको सिफारिस) साउन १५ सम्ममा यस कार्यालयमा पेस गर्नुहुन सहकारीले अनुरोध गरेको छ । साथै ओरेन्टल कोअपरेटिभ लिमिटेड/सञ्चालक/ऋणीको रोक्का रहेको अचल सम्पत्तिको लिलामको प्रक्रियाबाट रकम असुल गरी एक लाख र सोभन्दा माथिका बचत मागदाबी कर्ताको रकम अर्को चरणमा वितरण गरिने कार्यालयले जनाएको छ । ओरेन्टल सहकारीका ५२८ बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको अभिलेख समितिको कार्यालयमा रहेको बताइएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।