• ९ मंसिर २०८१, आइतबार

‘मैले देखेको नेपाल’ सार्वजनिक

blog

‘मैले देखेको नेपाल’ पुस्तक सार्वजनिक कार्यक्रम ।

काठमाडौं, साउन ६ गते । पूर्व सचिव तथा वाटर एसिया इन्टरनेशनलका अध्यक्ष डा. चिलोचन उप्रेतीको कृति ‘मैले देखेको नेपाल’ शनिबार सार्वजनिक भएको छ । कृतिमा २०३५ सालदेखि २०८० सम्मका प्रमुख राजनीतिक, सामाजिक, आर्थिक घटनाक्रमलाई प्रस्तुत गरिएको छ । 

एसिया वाटर इन्टरनेशनलद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंह, पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइराला, पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेल, पूर्व कुलपति गंगाप्रसाद उप्रेती र महिला अधिकारकर्मी डा. रेणु अधिकारीले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभएको हो ।

प्रमुख अतिथि पूर्व न्यायाधीश टोपबहादुर सिंहले २००७ सालको परिवर्तनपछि नेपालमा भारतले माइक्रोम्यानेजमेन्ट गरिरहेको र पछिल्ला समय चीनले समेत त्यसको सिको गर्दैआएको बताउनुभयो । पूर्वसचिव डा. विमल कोइरालाले पुस्तकको समीक्षा गर्दै मैले देखेको नेपालभित्र आफूले नदेखेको नेपालको चित्र पाएको बताउनुभयो ।

उहाँले पुस्तकमा इतिहास, समाजशास्त्र, राजनीति सबै मिसमास भएर आएको चर्चा गर्दै यसलाई छुट्याउन कठिन भएको बताउनुभयो । यस्तै, पूर्वसचिव डा. द्वारिकानाथ ढुङ्गेलले पुस्तकको चर्चा गर्दै आर्थिक, राजनीतिक, सामाजिक, वैदेशिकस्थितिको चित्रण कृतिमा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मुलुक कसरी बिग्रिएको छ ? कतातिर जाँदैछ ? भन्ने सचित्र वर्णन कृतिमा गरिएको छ ।’ 

यस्तै, महिला अधिकारकर्मी डा. रेणु अधिकारीले मानवअधिकार र महिला दृष्टिकोणबाट पुस्तकको चर्चा गर्दै शब्दकै हिसाबले भए पनि लैङ्गिक संवेदनशीलतामा पुस्तक सचेत रहेको टिप्पणी गर्नुभयो ।

पुस्तकका लेखक डा. त्रिलोचन उप्रेतीले आफूले भोगेका, देखेका घटनालाई मिहिन ढङ्गले पुस्तकमा उतार्ने जमर्को गरेको बताउनुभयो । उहाँले कुनै पनि विषयलाई ठीक र बेठीक भनेर छुट्याउन नेपाली समाज असफल हुँदै गएको चर्चा गर्दै तर आफूले पुस्तकमा कुनै पनि प्रभावमा नपरी लेखेको  जिकिर गर्नुभयो ।