• ७ जेठ २०८१, सोमबार

नाम्खा गाउँपालिकामा पहिलो पटक फोर जी सेवा सञ्चालन

blog

इलिङ लेकमा नयाँ स्थापना भएको फोर जी सेवाका टावर । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, साउन ६ गते । उत्तरी नाम्खा गाउँपालिकामा पहिलो पटक नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन आएको छ । टेलिकमबाट आएको प्राविधिक टोलीले गाउँपालिका केन्द्र याल्वाङ नजिकको इलिङ लेकमा सेवाका लागि टावरको जडान कार्य पुरा गरेर फोर जी सेवा सुचारु गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले धेरै लामो प्रयासपछि पहिलो पटक गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालन गर्न सफल भएको बताउनुभयो । नेपाल टेलिकमको माइक्रो वेभबाट फोर जी सेवा सुचारु भयसँगै नाम्खा गाउँपालिकाका इन्टरनेट सेवा सहज भएको छ । 

यसअघि गाउँपालिकाले केन्द्रमा रहेको कार्यालयमा वल्र्डलिंकको इन्टरनेट सेवाबाट महँगोमा शुल्क तिरेर  काम गर्दै आएको थियो । उहाँले एक वर्षको अथक प्रयासपछि गाउँपालिकामा नेपाल टेलिकमको फोर जी सेवा स्थापना गर्न सफल भएको बताउँदै नाम्खावासी अब इन्टरनेट सेवामा जोडिएको बताउनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले त्यो पनि गुणस्तरीय नभएको बताउँदै वार्षिक साढे बाह्र लाख रुपियाँ वल्र्डलिंकलाई शुल्क तिरिँदै आएकोमा अब त्यो आर्थिक व्ययभारबाट गाउँपालिकाले छुटकारा पाएको बताउनुभयो । 

गाउँपालिकाका छ वटा वडा मध्य फोर जी सेवा सुचारु भयसँगै वडा नम्बर १ देखि ५ मा इन्टरनेट सेवाको पहुँचमा जोडिएका छन् । फोर जी सेवा सञ्चालनमा आए पनि अहिले पनि गाउँपालिकाका एक दुई गाउँमा भने अग्ला डाँडाको कारण इन्टरनेट सेवाको पुग्न सकेको छैन । उहाँले सुचारु भएको फोरजी सेवा निक्कै गतिमा सञ्चालन भई रहेकोले कार्यालयलाई काम गर्न पनि सजिलो भएको बताउनुभयो । 

कार्यालयलाई मात्र नभएर फोर जी सेवा सुचारु भएपछि नाम्खावासी पनि इन्टरनेट सेवाको पहुँचमा जोडिनु भएको छ । यसका लागि नेपाल टेलिकमको काठमाडौँबाट आएका प्राविधिक टोलीले एक हप्तासम्म टावर निर्माण तथा जडान कार्य गरेको थियो ।