• ७ जेठ २०८१, सोमबार

जाजरकोट–जुम्ला सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु

blog

सहदेव वस्नेत

जाजरकोट, साउन ६ गते । जाजरकोट– जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङ मार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ । उक्त सुरुङ मार्गको पहिलो चरणको अध्ययनको जिम्मेवारी आइटेको टीएमएस रे जेभीले पाएको लिएको छ ।

निर्माण कम्पनी आइटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डीपीआरका लागि दोस्रो चरणको काम सुरु हुने जानकारी दिनु भयो । हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारे कोट जुम्ला जोड्ने सडक निर्माण जारी छ। 

जाजरकोटका सङ्घीय सांसद  एवं सिँचाइ ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बहादुर बस्नेतले जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङ मार्ग नै हुने भएकोले यसलाई प्राथमिकतामा राखिएको बताउनु भयो । 

साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर रहेको र सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने  मन्त्री  बस्नेतले जानकारी दिनु भयो। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्नुपर्ने झन्झट सुरुङ मार्ग निर्माणपछि ३० मिनेटमै जुम्ला जान सकिने मन्त्री बस्नेतको भनाइ छ।

दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको छ। अहिले जाजरकोट सदरमुकामबाट बारे कोट–४ को दहसम्म सडकको कच्ची कटान पूरा भएको छ। सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले जुम्लाबाट कालिकोट हुँदै नेपालगन्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङ मार्ग हुँदै नेपालगन्ज, सुर्खेत जाँदा र आउँदा सात घण्टा छिटो हुने जानकारी दिनु भयो ।  

यसका लागि पाँच महिनाको समय पाएको र जसमा दुई महिना बितिसकेको कार्यालयले जनाएको छ । साथै अहिले बर्खा याम भएकाले कागजी काम मात्रै भइरहेको र बर्खा सकिने बित्तिकै फिल्डैमा गएर काम सुरु हुने कम्पनीको भनाइ छ ।