काठमाडौँ, साउन ५ गते । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३’ मा विजेताका दस भिडियो हङकङमा प्रदर्शन भएको छ । विजेता भिडियोहरू हङकङस्थित हेनरी जी लियोङ हल, याउ मा तेईमा प्रदर्शन गरिएको हो ।
प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू विश्वमाझ प्रवर्धन गर्ने उद्देश्यले ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ आयोजना गरिएको आयोजक वि विल राइज फाउन्डेसनका अध्यक्ष तुलसीकुमार गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “नेपालको सांस्कृतिक विविधतालाई बाहिर देखाउन सकेनौँ भने हाम्रो भाषा संस्कृतिको प्रचार हुन सक्दैन । नेपालमा त्यस्ता धेरै सुन्दर पर्यटकीय स्थल छन् जसलाई यस भिडियो च्यालेन्जले प्रवर्धन गरिरहेको छ ।” उहाँले फिल्म फेस्टिभलले नेपालको कुना कन्दरामा रहेका पर्यटकीय महत्वका नवीन थलो एवं कला संस्कृतिलाई विश्वभर उजागर गर्न सघाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
हङकङस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत उदयबहादुर रानामगरले ‘हामी उठ्ने छाैँ’ भन्ने नाराका साथ फाउन्डेसनले सिङ्गो नेपाललाई देश विदेशमा पु-याएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।