• ४ जेठ २०८१, शुक्रबार

सुत्केरी महिलालाई घिउ, अण्डा वितरण

blog

पोषणयुक्त खानेकुरा लिँदै महिलाहरू । तस्बिर: चन्द्र

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ४ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । सुत्केरी महिला तथा शिशुको स्वास्थ्यलाई स्वस्थकर बनाउनमा सहयोग पुर्याउने उद्देश्यसहित गाउँपालिकाले पालिकाभरका सुत्केरी महिलालाई घरघर पुगेर पोषणयुक्त खानेकुरा वितरण गरेको हो । 

गाउँपालिकाको पोषण तथा सरसफाइ योजनाअन्तर्गत ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रममार्फत सुत्केरी महिला तथा आमाहरूलाई पोसिलो खानेकुरा वितरण गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङका अनुसार प्रत्येक वडामा पुगेर सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । 

पाँच वटा वडा रहेको गाउँपालिकाभरका २९७ जना सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको उपाध्यक्ष आङ्बुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार वडा १ निघुरादिनबाट सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण सुरु गरी वडा २ फूलबारी, वडा ४ र ५ चाँगे हुँदै वडा ३ हाङ्पाङमा पुगेर अन्त्य गरिएको थियो । पोषणयुक्त खानेकुरामा घिउ, अण्डा, चना, मटरसहितका खाद्यसामग्री वितरण गरिएको उपाध्यक्ष आङ्बुहाङले बताउनुभयो । 

यता सुत्केरी भएको समयमा पोषणयुक्त खाना आवश्यक पर्ने साथै आमा र बच्चाको स्याहार तथा सफाइमा ध्यान दिनुपर्ने भएकाले उनीहरुलाई सहयोग पुर्‍याउन गाउँपालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको पालिका अध्यक्ष दीपेन्द्र पोमूको भनाइ छ । ‘उपाध्यक्षसँग सुत्केरी आमा, स्वास्थ्य सरसफाइ साथै पोसिलो खाना’ भन्ने नारा नै तय गरेर सुरु भएको कार्यक्रमलाई नयाँ आर्थिक वर्ष २०८०÷८१ मा पनि निरन्तरता दिने गरी बजेट व्यवस्था गरेको गाउँपालिकाले जनाएको छ ।