• १३ साउन २०८१, आइतबार

झण्डै सय किलो सुन बरामद

blog

काठमाडौँ, साउन ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ। हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बरामद गरेको हो। 

विभागका महानिर्देशक नवराज ढुङ्गानाले प्रारम्भिक रूपमा ८० देखि एक सय किलोग्राम सुन बरामद भएको अनुमान गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विभिन्न सामग्रीसँग जोडेर र बेरेर ल्याएको हुनाले सुनको वास्तविक तौल निकाल्नुपर्ने हुन्छ। राष्ट्र बैङ्कमा पठाएपछि वास्तविक तौल यकिन हुन्छ। अहिले हाम्रो प्रारम्भिक अनुमानमा ८० देखि एक सय किलोग्राम छ।”

उहाँले बरामद भएको सुन बिहीबार नेपाल राष्ट्र बैङ्कमा बुझाउने बताउनुभयो। महानिर्देशक ढुङ्गानाले एक आयातकर्ताले आफ्नो सामानमा सुन लुकाएर ल्याएको जानकारी दिनुहुँदै हङकङबाट काठमाडौँ आएको क्याथे प्यासिफिकको मङ्गलबारको उडानबाट सुन भित्रिएको बताउनुभयो।  उहाँले भन्नुभयो, “विमानस्थलबाट शङ्कास्पद वस्तु आइरहेको र सुन तस्करी हुन्छ भन्ने सूचनाका आधारमा १० दिनअघि सुनकै तस्करी नियन्त्रणका लागि एउटा टोली बनाएर काम गरिरहेका थियौँ। आयातकर्ताले मोटरसाइकल र स्कुटरको ब्रेक सु भन्ने घोषणा गरेका सामानका रूपमा सुन भित्र्याएको पाइयो।”

महानिर्देशक ढुङ्गानाले बुधबार अनुसन्धानका क्रममा सुन नै भएको पुष्टि भएपछि बरामद गरिएको बताउँदै सुन ल्याउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो। पक्राउ पर्नेमा भन्सार एजेन्टको काम गर्ने व्यक्ति, ट्याक्सी ड्राइभर र अरूको लाइसेन्समा भन्सार एजेन्ट भएर बिचौलियाको काम गर्ने राजेन्द्रकुमार राई रहेको विभागले जनाएको छ।   

यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस