• ४ जेठ २०८१, शुक्रबार

बाल मुटुरोगको समस्या बढ्दो

blog

काठमाडौँ, साउन ४ गते । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मात्र वार्षिक २५० जना बालबालिकाको मुटुको शल्यक्रिया हुँदै आएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अरू दुई सय जनाको शल्यक्रिया हुन्छ। शल्यक्रियाबाहेक वार्षिक पाँचदेखि सात सय बाथ मुटुरोग भएका बालबालिकाको उपचार हुने गरेको छ। 

यो तथ्याङ्कले बालबालिकामा मुटुरोगको समस्या बढ्दो क्रममा देखाउँछ। बाल मुटुरोगमा जन्मजात मुटुको समस्या र मुटुमा प्वाल हुने देखिएका छन्। प्वालको उपचार शल्यक्रिया हो।

मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले मनमोहनमा वार्षिक दुई सय जना बालबालिकाको मुटुको शल्यक्रिया हुने जानकारी दिनुभयो। उहाँले कतिपय बालबालिका रिफर भएर आउने गरेको बताउनुभयो। त्यसरी रिफर भएर उपचारका लागि काठमाडौँ नआउने बालबालिका पनि हुन्छन्। नेपालमा एक प्रतिशत बालबालिकामा मुटुरोग रहेको तथ्याङ्क छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका बाल मुटुरोग विशेषज्ञ डा. मनीष श्रेष्ठले अस्पतालमा वार्षिक पाँच हजारभन्दा बढी बालबालिका मुटुको समस्या लिएर आउने गरेको जानकारी दिनुभयो। 

सरकारले १४ वर्षमुनिका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने गरेको छ। मनमोहन र गङ्गालाल दुवैमा यो सुविधा छ। त्यसका लागि जन्मदर्ता, आमाबुबाको नागरिकता र स्थानीय सरकार (पालिका) ले सिफारिस गरेको पत्र हुनुपर्छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले शल्यक्रियाका लागि आउने अधिकांश बालबालिकाको मुटुमा प्वाल हुने गरेको बताउनुभयो। उहाँका अनुसार बाल मुटुरोगका विभिन्न प्रकारमध्ये बाथ मुटुरोग धेरै बालबालिकामा हुने गर्दछ। डा. भट्टराईले पाँचदेखि १५ वर्षका बालबालिकामा बाथ मुटुरोग लाग्ने गरेको जानकारी दिँदै त्यो जन्मजात हुने र कतिपयलाई पछि हुने मुटुरोग लाग्ने बताउनुभयो। जन्मजात मुटुरोग देखिने कारणमा वंशाणुगत मुख्य रहेको छ। 

बाबुआमामध्ये कसैमा मुटुरोग लागेको भए उनीहरूबाट जन्मिने बच्चामा मुटुमा प्वाल पर्ने, मुटुका नसा उल्टो हुने, कडाभन्दा कडा खालका मुटुरोग लाग्न सक्ने जस्ता वंशाणुगत मुटुरोगको सम्भावना हुने बताउनुभयो तर जन्मजात मुटुरोग लागेका बालबालिका उपचारपछि पूर्ण रूपमा निको हुने उहाँको भनाइ छ। जन्मजात लाग्ने मुटुरोग सामान्यदेखि कडा हुने भए पनि मुटुमा हुने प्वाल उपचारपछि निको हुने उहाँले बताउनुभयो। उहाँले कडा खालका मुटुरोग भएका बालबालिका भने पूर्ण रूपमा निको हुने सम्भावना न्यून हुने जानकारी दिनुभयो।

कतिपयको एक पटकभन्दा बढी शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ भन्दै उहाँले हरेक पटकको आर्थिक भार परिवारलाई पर्ने बताउनुभयो। डा. भट्टराईले अस्पतालमा हुने सेवा, शल्यक्रिया निःशुल्क भए पनि अस्पतालमा नपाइने सामग्री भने बिरामीले छुट्टै किन्नुपर्ने भएकाले आर्थिक भार बढ्ने बताउनुभयो। 

हाल नेपाल मुटुरोगको उपचारमा सुदृढ अवस्थामा छ । ९० देखि ९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव हुन्छ। मुटु प्रत्यारोपणबाहेक अन्य मुटुसम्बन्धी उपचार नेपालमै हुँदै आएको छ। तथापि उहाँले मुटुका सामान्य प्रकृतिका रोगको लक्षण नै देखा नपर्न सक्ने भएकाले अभिभावक सजग रहनुपर्ने बताउनुभयो। जन्मजात रूपमा नै मुटुरोग भएका बालबालिकाको उमेर अनुसार तौल नबढ्ने, शरीरका विभिन्न अङ्ग नीलो हुने, राम्रोसँग खान नसक्ने तथा राम्रोसँग दूध नचुस्ने, रुघाखोकी धेरै लागिरहने जस्ता लक्षण देखिएमा मुटुरोग लागेको हुन सक्छ। 

डा. भट्टराईले मुटुमा प्वाल परेको अवस्थामा मुटुको ढुकढुकी थाहा हुने, स्वाँस्वाँ हुने, थोरै काम गर्दा पनि धेरै थकाइ महसुस हुने जस्ता समस्या देखिने जानकारी दिनुभयो। उहाँले यस्ता लक्षणमा कालान्तरमा हृदयाघात गराउने भन्दै मुटुरोग भएमा छातीको देब्रे भागमा दुखिरहने बताउनुभयो।  

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।