• १३ साउन २०८१, आइतबार

भित्तामा जनावरका चित्र

blog

नेपालगन्ज, साउन ३ गते । बाँकेको थारू समुदायको बाहुल्य भएका गाउँबस्तीमा समुदायको संस्कृति र पहिचान जोगाउन तथा चिनाउनका लागि अधिकांश घरको भित्तामा जङ्गली जनावरका चित्र कोरिएका छन् । 

बाँके कोहलपुर मैटहवाका दीपेन्द्र चौधरीले आधुनिक सभ्यताका कारण हराउँदै गएको थारू संस्कृति र पहिचानको संरक्षणका लागि थारूका घरका भित्तामा जनावरका चित्र तथा थारू संस्कृति झल्कने चित्र कोरिएको बताउनुभयो । घरका भित्तामा चित्र कोरिनाले कला र संस्कृतिको संरक्षण हुनुका साथै बाहिरबाट आएका आगन्तुकलाई थारूको घर चिनाउन सहज भएको उहाँको भनाइ छ । 

त्यस्तै बाँके वैजनाथ–१ का थारू समुदायका अधिकांश घरमा विभिन्न जनावर र संस्कृति झल्किने चित्र कोरिएका छन् । बाँके राष्ट्रिय निकुञ्ज छेउमा रहेको वैजनाथ–१, च्यामा गाउँका राजेन्द्र चौधरीले पहिचान र संस्कृतिका लागि अधिकांशले आफ्नो घरको भित्तामा जङ्गली जनावरको चित्र बनाएको बताउनुभयो । 

उहाँका अनुसार च्यामा गाउँलाई नमुना गाउँका रूपमा विकास गर्न अधिकांश थारूले घरको भित्तामा जङ्गली जनावर र समुदायको कला संस्कृति झल्कने चित्र बनाएको बताउनुभयो । चौधरीले भन्नुभयो, “थारू गाउँबस्तीको पहिचान हराउन थालेपछि यसको संरक्षण गर्न घरका भित्तामा जङ्गली जनावर र पन्छीको चित्र बनाउने अभियान थालेका छौँ ।” घरको भित्तामा हिंस्रक जङ्गली जनावर र पन्छी (बाघ, हात्ती, गैँडा, घोडा, मयूर) को चित्र बनाउँदा परिवारका सदस्य सुरक्षित हुने थारू समुदायको विश्वास छ । 

थारू अगुवा कृष्ण चौधरीका अनुसार परापूर्वकालमा जङ्गली जनावर र पन्छीको बिगबिगी थियो । हिंस्रक जङ्गली जनावर घरमै आएर आक्रमण गर्थे । त्यसबाट जोगिन थारू जातिले घरको भित्तामा जङ्गली जनावरको चित्र कोर्न थालेपछि यही संस्कृति बन्यो । उहाँले भन्नुभयो, “बाघ, भालु जस्ता जङ्गली जनावरको आक्रमणबाट जोगिन हामी उनीहरूको पूजा गर्छौं र भित्तामा चित्र कोेरेर बच्ने उपाय निकाल्छौँ ।” वैजनाथ चिसापानीमा सञ्चालनमा रहेको गाभर भ्याली घरबास पर्यटक प्रवर्धनका साथै थारू पहिचान झल्काउन सबै घरको भित्तामा जनावरको चित्र बनाइएको छ ।