• २५ वैशाख २०८२, बिहिबार

ठेकेदारका कारण सडक कालोपत्रे अलपत्र

blog

पुष्कर भण्डारी 

डडेलधुरा, साउन २ गते । उग्रतारा–मेलौली, पोखरा–बेलापुर, बुडर–जोगबुडा, लिप्ना–गाईबाँधे, कटाल–परशुरामधाम, बिरादे–बगरकोटलगायत जिल्लाका सहायक सडक कालोपत्रे नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ । सो सडक कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ । निर्माण व्यवसायीले नै कालोपत्रे काम अलपत्र पारेको गुनासो स्थानीयवासीको छ । 

लिप्ना–गाईबाँधे, कटाल–परशुरामधाम सडकको कालोपत्रे काम अलपत्र परेको छ । अन्य सडकको हकमा पनि म्याद थप भएको मितिमा समेत काम पूरा हुन सकेको छैन । लामो समयदेखि अलपत्र परेको बुडर–जोगबुडा सडकको हाल भने काम अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले जानकारी दिनुभयो । 

उहाँका अनुसार उग्रतारा–मेलौली सडकको बयलडाँडा–चमडा खण्डमा कालोपत्रे गर्ने काम करिब ८० प्रतिशत मात्रै पुगेको छ । यस सडकखण्डमा कालोपत्रेका लागि एकएककेएस कन्स्ट्रक्सन प्रालिसँग २०७७ सालमा २० करोड १२ लाख रुपियाँ बराबरमा ठेक्का सम्झौता भएको थियो । 

यसको काम सम्पन्न गरिसक्नुपर्ने अवधि २०८० साल असार २७ गते रहेको छ तर समयमै काम पूरा भने हुन सकेको छैन । बिरादे–बगरकोट सडक कालोपत्रे गर्ने कामको ८० प्रतिशत काम भएको छ । पोखरा–बेलापुर सडकमा पर्खाल र नाली निर्माणको मात्रै काम भएको छ । लिप्ना–गाईबाँधे र लालढुङ्गा–परशुरामधाम सडकको काम अलपत्र परेको छ । 

कञ्चनपुरको दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पखोरा–डुङ्गाड सडक अन्तर्गत लिप्ना–गाईबाँधे खण्ड कालोपत्रेका लागि २०७७ असार ३० गते शर्मा–राजेन्द्र जेभीसँग सम्झौता भएको थियो । २०८० असार ३० गते कालोपत्रे गरिसक्ने गरेर २१ करोड ३६ लाख रकम बराबरको ठेक्का सम्झौता भएको हो । 

यसको भौतिक प्रगति ३५ प्रतिशत मात्रै पुगेको छ तर रकम भने छ करोड २२ लाख रुपियाँ खर्च भएको कार्यालय प्रमुख रावलले बताउनुभयो । यस्तै कटाल–परशुरामधाम धर्मिक पर्यटकीय सडकको कटाल–बहादुरे सडकखण्ड कालोपत्रेका लागि नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिसँग २०७६ असार ३१ गते १३ करोड २८ लाख रुपियाँ बराबरको ठेक्का सम्झौता भएको थियो । 

सो सडक कालोपत्रे गरिसक्ने मिति २०७९ असोज ४ गतेसम्म थियो । एक पटक म्याद थप गर्दासमेत ४१ प्रतिशत मात्रै काम पूरा भएको उहाँले बताउनुभयो । यस सडकखण्डमा हालसम्म छ करोड ११ लाख रुपियाँ बराबर खर्च भइसकेको छ । 

यसै गरी बगरकोट–सिराड–रूपाल सडकको बिरादे–बगरकोट–सिराड खण्ड कालोपत्रे गर्न महादेव खिम्ती/शनिदेव जेभीसँग २०७६ साल असार ३० गते २० करोड ७२ लाख रुपियाँ लागतमा ठेक्का सम्झौता भएको हो । २०७९ साल पुस ३० गते काम पूरा गर्नुपर्ने भए पनि जम्मा ७० प्रतिशत मात्रै काम भएको छ ।