गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २४ गते । गोरखापत्रका संस्थापक सञ्चालक जयपृथ्वीबहादुर सिंह (बझाङ्गी राजा) को योगदानको स्मरण गर्दै आज गोरखापत्र व्यवस्थापनका पदाधिकारीहरूले माल्यार्पण गरी स्मरण गर्नुभएको छ ।
गोरखापत्रको प्राङ्गण धर्मपथ काठमाडौँमा रहेको उहाँको मूर्तिमा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, सञ्चालक समितिका सदस्यहरू, विभागीय प्रमुखहरूले उहाँको मूर्तिमा माल्यार्पण गर्दै स्मरण गर्नुभएको हो ।
जयपृथ्वीबहादुर सिंहले वि.सं. १९५८ साल वैशाख २४ गते तत्कालीन प्रधानमन्त्री देव शमशेरले गोरखापत्र प्रकाशन गर्दा केही समयपछि प्रमुख व्यवस्थापकको जिम्मेवारी पाउनुभएको थियो । सिंहको मूर्ति २०५५ साल वैशाख २४ गते गोरखापत्र प्राङ्गणमा निर्माण गरिएको थियो ।