गोरखापत्र अनलाइन
काठमाडौं, साउन १ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परराष्ट्रनीतिमा सरकारले सन्तुलन गुमाउँदैगएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले सोमबार कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उपमहासचिव ज्ञवालीले सत्ता टिकाउनका लागि सरकारले असंलग्नताको परराष्ट्र नीतिमा विचलन ल्याउने काम गरिरहेको उहाँको आरोप छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत खरिदसहितको सम्झौता गरेको उहाँले टिप्पणी गर्नुभयो । पछिल्ला समय नेपालले नजानिँदो ढङ्गले एउटा देशप्रति बढी र अर्को देशतिर आशक्ति देखाउने काम गरिरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘असंलग्नता नेपालको लागि सान्दर्भिक छ । पछिल्ला दिनमा त्यसमा विचलनहरू देखा पर्न थालेका छन् । सबैले प्राज्ञिक ढङ्गले सरकारलाई होसियार बनाउनुपर्छ । सत्ता टिकाउने नाममा जस्तोसुकै जोखिम उठाउँदा देशले ठुलो मूल्य चुकाउने हुनसक्छ ।” सरकारलाई म विशेष गरेर असंलग्नताको हाम्रो मूलभूत सिद्धान्तभन्दा दायाँबायाँ हुनेगरी कदम नचाल्न आग्रह गर्नुभयो । “हिजोको शीत युद्ध टाढा थियो । त्यसकारण यससँग विचलन हुने कुनै पनि कुराहरू वाञ्छनीय छैन । नेपालको प्राकृतिक स्रोतमाथि हामीले कतै आफ्नो नियन्त्रण गुमाउँदै गएका हौ कि ?” उहाँले भन्नुभयो ।
उपमहासचिव ज्ञवालीले नेपालले आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर छिमेकी मुलुकसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेतृ एवं पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालले भारत–चीनबीचको सम्बन्ध बलियो बनाउने काममा प्रयास गर्नुपर्ने बताउनुभयो । दुई मुलुकबीचको सम्बन्ध राम्रो भए मात्रै नेपालले त्यसबाट लाभ लिन सक्ने उहाँको सुझाव छ । नेतृ कोइरालाले नेपालले राष्ट्रिय हितविपरित कुनै पनि मुलुकको बहकाउमा परराष्ट्र सम्बन्ध अघि बढाउन नहुने उहाँको सुझाव छ ।
उहाँले विदेशीको प्रभावमा परेर राष्ट्रिय हितको पक्षमा नबोल्ने काम बुद्धिजीवीबाट समेत हुनेगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाइना र भारत यी देशलाई तरुल भन्नुस् वा हात्ती भन्नुस् । बीपीले हात्ती भन्नुहुन्थ्यो । गिरिजाबाबुले सुनको खानी भन्नुहुन्थ्यो ।’ नेपाल दुई सुनखानीको बीचमा रहेको उहाँले चर्चा गर्नुभयो ।
“चीन र भारतको सम्बन्ध राम्रो बनोस् भन्ने कुराको हामीले प्रयास गर्नुपर्छ” उहाँले थप्नुभयो, “हामीले दुईटा मुलुक जति नजिक हुन्छन् । जति एक हुन्छन्, नेपाललाई त्यति फाइदा छ । नेपालको विकास हुन्छ ।”
नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपाल भूराजनीतिको चपेटामा फस्दैगएको चर्चा गर्नुभयो । त्यसबाट मुक्त हुनेखालको परराष्ट्रनीति बनाउने काममा पहलकदमी लिन परराष्ट्रवादीलाई उहाँले आग्रह गर्नुभयो । बीआरआई, एमसीसीजस्ता परियोजना नेपालको हितमा नभएको उहाँले दाबी गर्नुभयो । त्यसले पार्ने असरबारे नेपाल सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेता कार्कीले नेपालले विश्व अर्थ व्यवस्था र विश्व राजनीतिबारे गहिरो अध्ययन गरी सोहीअनुसारको परराष्ट्र सम्बन्धलाई अघि बढाउने कुरामा ढिलाइ गर्न नहुने सुझाव दिनुभयो । नेता कार्कीले भारत र चीनबीच नेपालले सुमधुर सम्बन्ध कायम राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।