गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ४ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा प्रतिगमनकारी कदम सफल हुन नसक्ने बताउनुभएको छ । उहाँले प्रतिगमनका लागि कोसिस गर्नेले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, “राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन सक्दैन ।”
नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृति कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो ।
शनिबार बल्खुमा आयोजित स्मृति कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतान्त्रिक सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव छैन । हामी सम्भव हुन दिँदैनौँ । अरूको नेतृत्वमा समय समयमा भएका होलान् तर हाम्रो नेतृत्व भएको समयमा प्रतिगमन नसोचे हुन्छ । साह्रै ठुलो मूल्य चुकाउनुपर्ने छ प्रतिगमनका निम्ति कोसिस गर्नेले ।” उहाँले एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले नेता र कार्यकर्तालाई एकताबद्ध भएर ढुक्कका साथ अगाडि बढ्न निर्देश गर्नुभयो ।
‘धेरैतिर फर्केकालाई एकतामा ल्याउन सकिन्न’
एमाले अध्यक्ष ओलीले एकताका लागि मात्र एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति लिनुपर्नेमा जोड दिँदै सही विचारबिना धेरैतिर फर्किएकालाई वामपन्थी एकतामा ल्याउन नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आए । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ ।”
मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिस्टहरू निरङ्कुश हुन्छन् भन्ने आरोपलाई खण्डन गरेको जिकिर गर्दै उहाँले यो विचार राजनीति र लोकतन्त्रका लागि मात्र नभई आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो । बहुदलीय जनवादकै जगमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आफूहरूले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजेको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरूले कहिल्यै नछाडेको स्पष्ट गर्नुभयो ।जननेता भण्डारी कम्युनिस्ट आन्दोलनलाई समयानुकूल हाँक्ने नीतिकार तथा रणनीतिकार भएको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले विश्वमा कम्युनिस्ट आन्दोलन धराशायी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पु-याएको चर्चा गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादकै जगमा एमाले मुुलुकको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको र पार्टीले २०५१ सालमा संसद्को सबैभन्दा ठुलो राजनीति दल बन्न सफल भएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला राधिका शाक्य, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जीवराज आश्रितकी पत्नी माया ज्ञवाली, पार्टी नेता अमृतकुमार बोहरालगायतका नेताकार्यकर्ताले मदन–आश्रितको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
बहुमतको एमाले सरकार चाहिन्छ
यसै गरी प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताउनुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले देशलाई बिगार्न नदिन र बिनाव्यावधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेलाई बहुमतको सरकार चाहिने बताउनुभएको हो ।
“मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो ग-यौँ । अब त्यो भ्रममा रहनु हुँदैन । साना साना स्वार्थ लिएकाले हामीविरुद्ध भ्रम फिँजाएका छन्, त्यस्तो भ्रममा पर्नु हुँदैन । एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनु पर्छ,” अध्यक्ष ओलीले भन्नुभयो, “म युवालाई एमालेमा आउनूस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उल्काउन चाहन्नँ । आउनूस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ । मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन् । रहर लागेर तुरुन्तै डाक्टर, इन्जिनियर हुँदैनन् । मेहनत र समय आवश्यक हुन्छ । यो वास्तविकता तपाईंहरूले बुझ्नु पर्छ ।”
सोही कार्यव्रmमलाई सम्बोधन गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले देश अरू कसैले नबनाउने भएकाले युवा एकजुट हुन र उद्यमशीलतामा लाग्नुपर्ने बताउनुभयो ।