• १३ साउन २०८१, आइतबार

मकै जोनमा मकैको उत्पादन बढ्यो

blog

कन्काई नगरपालिकाका किसान बारीमा फलेको मकै हेर्दै । तस्बिर: विष्णु

विष्णुप्रसाद पोखरेल

दमक, साउन १ गते । झापामा  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम सुरु भएपछि मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष मकैको उत्पादनमा वृद्धि भएको पाइएको हो ।

परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार प्रविधिमा आधारित रहेर हाइब्रिड जातका मकै लगाउने किसानहरुको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्न थालेको हो । झापा गाउँपालिका र कन्काइ नगरपालिका ५ सय हेक्टर जमिनमा मकै जोन कार्यक्रम लागु भएको छ ।

सुवेदीका अनुसार मकैको उत्पादन र उत्पादकत्व दुवै बढेको छ । ५ सय हेक्टर जमिनमा ४ हजार २० मेट्रिक टन मकै उत्पादन भएको छ । यो वर्ष २ दशमलव ४२ प्रतिसतले मकैको उत्पादन बढेको छ, सुवेदीले भन्नुभयो । मकैको उत्पादकत्व ८ दशमलव ०४ प्रतिशत पुगेको पनि उहाँले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष उत्पादकत्व ७ दशमलव ८५ प्रतिशत मात्र थियो । मकै जोनमा उत्पादन लागत घटाउँदै उत्पादन बढाउनका लागि उन्नत जातका मकैको बीउ उपलब्ध गराउने, यान्त्रीकरणमा सहयोग गर्ने, बजारीकरणका लागि आवश्यक पहल गर्ने कार्यक्रमहरू रहेको सुवेदीको भनाइ छ । मकै सुकाउने ड्रायर पनि किसानहरूले पाएका छन् ।

आधुनिक तवरले अर्थात् ट्याक्टरको पछाडि सिड ड्रिलको सहायताले किसानहरूले मकै रोप्न थालेका छन् । परियोजनाका सूचना अधिकारी एवं प्रविधि सहायक रविन निरौलाका अनुसार मकै रोप्ने मेशिन सिड ड्रिलले एउटै परिमाणमा मल हाल्नेदेखि लिएर मकै खसाउने गर्दछ । 

यसले लागत मूल्य घटाउने र समयको पनि बचत गर्नाले किसानहरू आकर्षित छन्, उहाँले भन्नुभयो । मकैको ब्यवसायीक खेती गर्ने कृषि सहकारी संस्था तथा कृषि समूहहरूलाई लक्षित गरेर परियोजनाले मकै रोप्नका लागि ट्याक्टर र मेशिनहरू उपलब्ध गराएको छ । परियोजना मार्फत सरकारले प्रविधि र बीउमा निरन्तर किसानलाई सहयोग गर्दै आएको छ ।