• १३ साउन २०८१, आइतबार

ताप्लेजुङमा ४३ प्रतिशत रोपाइँ सम्पन्न

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १ गते । ताप्लेजुङमा असार मसान्तसम्ममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जेठको दोस्रो साता पछिदेखि नै रोपाइँ सुरु हुने गरेको जिल्लामा हालसम्म ४३ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । 

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षको तुलनामा यो वर्ष केही कम रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्ममा ४५ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष भने असार मसान्त सम्ममा दुई प्रतिशत कम अर्थात् ४३ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । 

ताप्लेजुङमा कुल खेतीयोग्य जमिन २७ हजार ५५१ मध्ये आठ हजार ३३७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत विनय महर्जनले जानकारी दिनुभयो । यस वर्ष असार पहिलो साता भीषण वर्षासँगै बाढी र पहिरो गएका कारण धान रोपाइँमा असर पुगेको कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापामगरको भनाइ छ । 

उहाँका अनुसार बाढी पहिरोले सिँचाइका कुलोहरूमा क्षति गरेको साथै काम गर्नलाई असहज भएका कारण रोपाइँ केही कम हुन गएको हो । ताप्लेजुङका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धानखेती लगाउने गरेका छन् । पछिल्लो समयमा भने उन्नत जातका धान बालीतर्फ पनि किसानहरू आकर्षित हुन थालेका कृषि प्रसार अधिकृत महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातका धानखेती किसानले लगाउँदै आएका छन् । 

हिमाली जिल्ला भएका ताप्लेजुङका नौ स्थानीय तहका ६१ वटा वडामध्ये उच्च भेगका केही वडामा धानखेती नहुने गरेको छ । तल्लो औल तथा बेँसी क्षेत्रका खेतीयोग्य अधिकांश जमिनमा किसानले धानखेती गर्दै आएका छन् ।