• २८ वैशाख २०८२, आइतबार

सडक खाल्डाखुल्डीले स्थानीयको यात्रा जोखिम

blog

सप्तरीका खाल्डाखुल्डी सडक । तस्विर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, असार ३१ गते ।  वर्षा लागेसँगै सप्तरीका कतिपय सडकमा खाल्डाखुल्डीले यात्रुको यात्रा असहज बन्दैगएको छ । ग्रामीण क्षेत्रसँगै सदरमुकाम राजविराजको सडकको अवस्था खासै फरक नरहेको स्थानीयको गुनासो छ ।

राजविराजस्थित हनुमान मन्दिरदेखि रुपनीमोडसम्मको करिब १५० मिटर सडकको ठाउँ-ठाउँमा खाल्डाखुल्डी परेको छ । वर्षा भएसँगै पोखरीझैं सडक देखिन्छ । पोखरीझैं देखिने सडकमा दैनिक सयौँ गाडी ओहोरदोहर गर्ने गर्छन । यात्रुहरुले जोखिम मोलेर यात्रा गर्न बाध्य भए पनि सरोकारवालाको ध्यान पुगेको छैन ।

राजविराज–हुनुमाननगर भारदह सडकखण्डको अवस्था पनि फरक छैन । १७ किमी दूरीको यस सडकमा ५० भन्दा बढी खाल्डाखुल्डी छन् । त्यस्तै, जिल्लाको कठौना–पातो, तिलाठी बेल्ही–मल्हनियाँ–डलवा–हनुमाननगर, महुली–कुशहा–बथनाहा–मंसापुर, रुपनी–राजविराज, हुलाकीमार्गलगायत ग्रामीण सडकको अवस्थाले सप्तरीसहित विभिन्न ठाउँका स्थानीय कष्टकर यात्रा गर्न बाध्य छन् ।

भारतसँग सिमाना जोडिएको तथा विभिन्न पर्यटकीयस्थल सप्तरीमा भएकाले दैनिकी भारतीयहरु यहाँ आउने गर्छन् । बाटोको दयनिय अवस्थाले छिमेकी देशका पर्यटकलाई समेत आवतजावतमा समस्या हुनेगरेको स्थानीयहरू बताउँछन् । 

राजविराज नगरपालिकाका कार्यवहाक नगरप्रमुख इसरत परविनले पटक–पटक ठेकेदारलाई यी कुरा भन्दा पनि अटेर गरेको बताउनुभयो । ‘राजविराजको धेरै सडकमा खाल्डा छन्, ठेकेदारलाई पटक पटक भन्दा पनि सुन्दैनन’ उहाँले भन्नुभयो, ‘सबै ठेकेदारलाई बोलाएर कुरा गरेको हौं, तर एक दुई दिन काम गर्छ फेरि भागी हाल्छ, टेर्दै टेर्दैनन् ।’ 

गाउँपालिका अध्यक्ष अरुणकुमार मंडल, योजना प्रमुख दिपककुमार मंडल, उपाध्यक्ष फुलकुमारी साह सहितद्वारा सडकको अवस्थाबारे अनुगमन गरिएको छ । काम गरेवापत बिल भुक्तानी भएको २०–२२ दिन नबित्दै सडकमा हालेको माटो र ग्राभेलको नामोनिसान समेत नरहेको स्थानियवासी झाको आरोप छ । सो सम्बन्धमा गापा अध्यक्ष मण्डलले सडकमा माटो र ग्राभेलको काम भएको  भए पनि वर्षाका कारण माटो र ग्राभेल बगेको छ ।